वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम दुरूपयोग भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ।
उक्त कोषको रकम कर्मचारी तथा वैदेशिक रोजगार व्यवसायीहरूलाई विदेश भ्रमण, दूतावासमा कर्मचारी भर्ती तथा सवारी साधन खरिद तथा मर्मतमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सिपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता ल्याउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता दिने, वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउने लगायत वैदेशिक रोजगारमा गएका कामदारको हकहितका लागि उक्त कोषको रकम प्रयोग गरिने उल्लेख छ।
'उक्त कोषको रकमबाट नेपाली दूतावास अवुधावीलाई वैदेशिक रोजगार मेला व्यवस्थापन र वैदेशिक रोजगार व्यवसायी तथा संघसंगठनका प्रतिनिधिहरूको भ्रमण खर्चसमेतको लागि ३३ लाख १६ हजार रोजगार मेलामा सहभागी पदाधिकारी/कर्मचारीको भ्रमण खर्चमा १८ लाख २७ हजार, दुई थान विद्युतीय कार खरिद गर्न ७९ लाख ४० हजार, तीन दूतावासका सवारी साधन मर्मतमा २३ लाख ९८ हजार तथा नियोगमा कर्मचारी नियुक्ति गरी दुई करोड ५७ लाख २८ हजार खर्च गरेको छ,' प्रतिवेदनमा भनिएको छ।
कोषको उद्देश्य अनुसार वैदेशिक रोजगारमा जाने कामदारको हितमा मात्रै कोष उपयोग गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ।