दुबई जान २ लाख ३५ हजार रूपैयाँ बुझाएँ तर आज फ्लाइट छ भनेर म्यानपावर सम्पर्कबिहीन भयो- श्रम मन्त्रालयको कल सेन्टरमा गुनासो आयो।
यो गुनासो कल सेन्टरको अनलाइन प्रणालीबाट वैदेशिक रोजगार विभागमा पुग्यो।
विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले कर्मचारीहरूलाई तत्काल अनुगमन गरी कारबाही गर्न निर्देशन दिए।
गएको बिहीबार विभागको अनुगमन टोलीले ती युवाले उजुरीमा उल्लेख गरेको म्यानपावरमा अनुगमन गरे।
टोलीले अनुगमन गरी श्रमिकको समस्या तत्काल समाधान गर्न र लिखित जवाफ पेस गर्न निर्देशन दियो।
'त्यसबेला उजुरीकर्ता नेपालबाट दुबईको उडानमा नयाँ दिल्लीको ट्रान्जिटमा रहेछन्। म्यानपावरले उजुरीकर्ताको उडान रद्द गरेर नेपाल फिर्ता बोलायो,' विभागको अनुगमन शाखाका निर्देशक टिकाराम ढकालले भने।
आइतबार(आज) विभागले दुबै पक्ष उपस्थित गराएर छलफल गरायो।
निर्देशक ढकालका अनुसार छलफलका क्रममा उजुरीकर्ताले आफू विदेश जानेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमाधान कल सेन्टरको सूचना देखेको र काम हुन्छ कि हुँदैन भनेर विचार गर्न फोन गरेको पाइएको छ।
निःशुल्क कल हुने भएकाले पनि विचार गर्न ती युवाले खाली समयमा फोन गरेर उजुरी गरेको पाइएको हो।
निज उजुरीकर्ताले आफूले गल्ती गरेको र यस्तो गल्ती आइन्दा नदोहोर्याउने भनी क्षमायाचनाको निवेदन विभागमा दर्ता गराएका छन्।
आरोपी म्यानपावरले पनि विभागको अनुगमन र निर्देशनलाई पालना गर्न निज उजुरीकर्तालाई नेपाल झिकाएको र फेरि दुबई उडाउने प्रतिबद्धता जनाएको निर्देशक ढकालले बताए।
उनले कोही कसैले पनि झुट्टा विवरण उल्लेख गरी उजुरी नगर्न समेत आग्रह गरे।
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेको अवस्थामा भने जुनसुकै बेला तत्काल उजुरी गर्न आग्रह गरे।
यस्तो उजुरी तत्काल विभागका महानिर्देशक, गुनासो सुन्ने अधिकारी, सम्बन्धित निर्देशक, कल सेन्टर या कुनैपनि उपयुक्त माध्यममा प्रमाण सहित गर्न सकिने उनले बताए।