वैदेशिक रोजगार बोर्डले विभिन्न तालिम प्रदायक संस्थाहरूमार्फत् पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ।
बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले एक महिने यो तालिम लिएका महिलाहरूले सिलाई कटाई कामका लागि कुनै शुल्क नतिरी जोर्डन जान सक्ने बताएका छन्।
आगामी असारको पहिलो साताबाट काठमाडौंका विभिन्न ९ वटा तालिम प्रदायक संस्थाहरूमार्फत् गार्मेन्ट मेसिन अप्रेटर तालिम दिइनेछ।
यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइनेछ। तालिम लिनका लागि राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ।