काठमाडौंमा रोजगार मेला सुरू भएको छ।
मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आज उद्घाटन गरे।
रोजगार मेला जेठ १७ गतेसम्म चल्नेछ।
रोजगार मेलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग छ। त्यस्तै रोजगार सेवा केन्द्र एवम् मेरो जवको प्राविधिक सहयोग छ।
रोजगार मेला कामको खोजीमा रहेका युवाहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रमको समुद्घाटन गर्दै अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेण्डर इभेन्टको रुपमा अगाडी बढाउने बताए।
श्रम बजारमा रहेको रोजगारीको मिसम्याच समस्या समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रमले सघाउने धारणा ढकालको थियो।
'बजारमा दक्ष जनशक्तिको अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ, यो मिसम्याचलाई कसरी सम्बोधन गर्न सकिन्छ, भन्नेमा महासंघ केन्द्रीत छ,' उनले भने।
कुल गार्हस्थ उत्पादनमा करिव ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ। केही समयदेखि अर्थतन्त्रमा आएका अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सृजना र अर्थतन्त्र विस्तारमा समेत समस्या भएको ढकालको तर्क छ।
महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका प्रमुख पाँच प्राथमिकताहरूमा दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पूरा गर्न सघाउने विश्वास उनले व्यक्त गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका युवा र जनशक्ति खोजीरहेका उद्योग प्रतिष्ठान कम्पनीबीच पुलको काम गर्ने बताए।
मुलुकभित्र रहेको युवा जनसंख्याको सही परिचालन हुन सकेमात्र मुलुकले छिटो प्रगति गर्ने धारणा राखे।
उद्घाटन कार्यक्रमको प्रारम्भमा महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको जानकारी गराए।
मेलामा कम्पनीहरूले ६ सय भन्दा बढी रोजगारीको अवसर पेश गरेका छन्। दुुई दिने मेलामा करिब ५ हजारले अवलोकन गर्ने लक्ष्य राखिएको छ।