श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सुरू गरेको छ।
हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आइतबारबाट पुनः सुरू गरिएको हो।
आज बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन्।
कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमार्फत् कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरूले आफ्ना गुनासा, समस्या र सुझाव राखे।
मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्याहरू राखेका छन्।
मन्त्री कुँवरसँग श्रमिकहरूका सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाए।
फोनमार्फत् मन्त्री कुँवरलाई दुवई, मलेसिया, साउदीलगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरू बढी आएका छन्।
एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाए।
१० जना श्रमिककै गुनासा र समस्याहरू सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिए।
मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरूबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिएका छन्।
कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध समेत गरे।