सामाजिक सुरक्षा कोषले पाँचौं सामाजिक सुरक्षा दिवसका अवसरमा नियमित योगदानमा सहयोग पुर्याउने उत्कृष्ट १७ रोजगारदाता कम्पनीलाई सम्मान गरेको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोषले सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा लक्ष्मी बैंक, सिजी फुड्स नेपाल, बरुण बेभरेज नेपाल, रिलायन्स स्पिनिङ मिल्स, किरण शु म्यानुफ्याक्चरर्स, अरिहन्त मल्टिफाइबर्स, ग्रुप फर सेक्युरिटी सर्भिस, गोर्खा वेलफेयर ट्रष्ट नेपाल, सेभ द चिल्ड्रेन्स, कोटिभिट, सेडर गेट सर्भिस, स्प्राउट टेक्नोलोजी सर्भिस, गरुड सेक्युरिटी, रघुपति जुट मिल्स, इन्फोटेक सर्भिस, एनसेल, सुविधा सेवा प्रालि छन्।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना २०७५ मंसिर ११ गतेबाट औपचारिक रुपमा सुरू गरिएको हो। हाल कोषले योजना सञ्चालन कार्यविधि २०७५ मा समय सापेक्ष संसोधन गर्दै सहज बनाउँदै लगेको कोषको दाबी छ।
कोषले कार्यविधिलाई तेस्रो संसोधन गरिसकेको छ। जसमा योगदानकर्ताका पति वा पत्नीको समेत औषधि उपचार हुने व्यवस्था गरिएको छ। साथै घातक रोगको उपचारका लागि पनि कोषले १० लाखसम्म उपलब्ध गराउने सुविधा थपेको छ।
हाल कोषमा १७ हजार पाँच सय ६ रोजगारदाता जोडिएका छन्। तीन लाख ७५ हजारभन्दा बढी श्रमिक सूचीकृत छन्।