कात्तिक महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार बढेको छ।
असोज महिनासम्म समग्र आयात ४ प्रतिशतले गिरावट भएकोमा कात्तिक मसान्तमा आइपुग्दा ०.१७ प्रतिशतले बढेको छ।
गत वर्ष असोजसम्म चार खर्ब सात अर्बको आयात भएकोमा यो वर्ष असोजसम्म तीन खर्ब ९० अर्ब रूपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो।
भन्सार विभागका अनुसार गत वर्ष कात्तिक महिनामा पाँच खर्ब १२ अर्ब रूपैयाँको आयात भएकोमा अहिले पाँच खर्ब १३ अर्ब रूपैयाँ बराबर पुगेको छ।
महिनागत आयात भने कात्तिक महिनामा १७ प्रतिशतले बढेको छ। गत वर्ष कात्तिक महिनामा एक खर्ब ५ अर्बको आयात भएकोमा यो वर्ष एक खर्ब २३ अर्ब रूपैयाँ बराबरको भएको छ।
आयात मात्रै होइन निर्यात पनि बढेको तथ्यांकले देखाएको छ।
असोजसम्म ६ प्रतिशतले कमी देखिएको निर्यात पनि कात्तिसम्म आइपुग्दा ४ प्रतिशतको वृद्धिदर देखिएको छ।
गत वर्षको असोज महिनासम्म ४० अर्ब ८७ करोड रूपैयाँ बराबरको निर्यात भएकोमा यो वर्षको असोज महिनासम्म ३८ अर्ब ३७ करोड रूपैयाँको निर्यात भएको छ। तर, गत वर्ष कात्तिकसम्म ५० अर्ब ५६ करोडको निर्यात भएकोमा यो वर्ष ५२ अर्ब ६७ करोड पुगेको छ।
महिनागत रूपमा कात्तिकको निर्यात ४७ प्रतिशतले बढेको छ। गत वर्ष कात्तिक महिनामा मात्रै नौ अर्ब ६७ करोड रूपैयाँको निर्यात भएको थियो। यो वर्ष भने कात्तिकमा भने १४ अर्ब ३० करोड पुगेको छ।