उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडलले संसदले अहिलेको भन्दा बलियो अरु कुनै सरकार बनाउन नसक्ने बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'हामी हंक पार्लियामेन्टमा छौं। कुनै एउटा पार्टीको एकल सरकार छैन। संयुक्त सरकार बनाउनुको विकल्प नै छैन,' उनले भने, 'हामी विभिन्न प्रयोगबाट गुज्रिएका छौं। यो संसदले यो भन्दा बलियो कुनै सरकार बनाउन सक्दैन। दुई तिहाई बहुमत भएका ठूला दलले यो सरकार बनाएको हो।'
मुलुक आर्थिक समस्यामा रहेकोले यो समयमा धेरै प्रयोग गर्ने अवस्था नरहेको उनको भनाइ छ।
'यो सहयात्रा आउने निर्वाचनसम्म जान्छ। यसले राजनीतिक स्थिरताको संकेत गरेको छ। यसले नीतिगत स्थिरताको आधार तयार गरेको छ,' उनले भने, 'संविधानको मर्म अनुरूप बनेको र यसको कार्यान्वयनको लागि बनेको सरकार भएकोले नीतिगत स्थिरताको बलियो आधार तयार गरेको छ।'
'सरकारको नेतृत्व कसले गरेको छ भन्ने कुराको ठूलो अर्थ हुन्छ। हामीसँग सक्षम नेतृत्व छ। देशको वर्तमान र भविष्य बुझेको नेतृत्वको सरकार छ,' उनले भने।
यसअघि छोटो अवधिमा पनि एमाले नेतृत्वको सरकारले उच्च आर्थिक वृद्धि गरेको र त्यो सरकार अहिले पनि भएको उनले बताए।
'अब निजी क्षेत्रसँग समाधान छ, त्यो भनेको यो सरकार हो। यो सरकारको प्राथमिकतामा सबै प्रकारका निराशा चिर्नेछ। सबैमा आशा जघाउने यो सरकारको प्रयास हो। अब निजी क्षेत्र गतिशिल ढंगमा अगाडि बढ्न सक्छ भन्ने भरोसा दिलाउन चहान्छु,' उनले भने।
एक महिनाको अवधिमै राजस्व परिचालनमा सकारात्मक संकेत देखिएको उनको दाबी छ।
'गत वर्षको तुलनामा साउनमा राजस्व २० प्रतिशतले बढेको छ। समग्र वर्षमा राजस्व वृद्धिको ३० प्रतिशत माथिको लक्ष्य लिएका छौं,' उनले भने, 'गत साउनको तुलनामा पुँजीगत खर्च नौ गुणाले बढेको छ। घरजग्गाको कारोबार र सेयर बजारमा सुधार आइरहेको छ।'
भुक्तानी सन्तुलनको अवस्था सकारात्मक, विदेशी मुद्राको सञ्चिति उच्च रहेको तथ्यांकहरूले सरकारले काम गर्न थालेको देखाउने उनले बताएका छन्।
'हाम्रो अर्थतन्त्र शिथिलताबाट बाहिर आइसकेको छैन। अहिले पनि समग्र माग घटेको छ, उत्पादन घटेको छ। हाम्रो उद्योग ४० प्रतिशत क्षमतामा मात्र चलेका छन्,' उनले भने।