मूल्य अभिवृद्धिकर (भ्याट)मा दर्ता हुने करदाताको संख्या करिब तीन लाख ४५ हजार पुगेको छ।
२०८० असार मसान्तसम्म यस्ता करदाता तीन लाख ८ हजार ४४७ जना रहेका थिए।
गत वर्ष भ्याटमा लाग्ने वस्तुहरूको सूची बढेसँगै भ्याटमा दर्ता हुने करदाता बढेको आन्तरिक राजस्व विभागले जनाएको छ।
गत वर्ष मात्रै २६ हजार ५०६ जना करदाता भ्याटमा दर्ता भएका छन्।
सरकारले आयतित विभिन्न वस्तुहरूका साथै आन्तरिक कारोबार रकमका आधारमा भ्याटमा दर्ता हुनु पर्ने व्यवस्था गरेको छ।
वस्तु वा सेवाको मिश्रित कारोबार गर्दा ३० लाखभन्दा बढी, वस्तुको मात्रै कारोबारमा ५० लाखभन्दा बढी र सेवाको मात्रै कारोबार गर्नेलाई २० लाखभन्दा बढीको कारोबार गर्ने निकाय भ्याटमा दर्ता हुनु पर्ने हुन्छ।
भ्याटमा धेरै दर्ता हुनुले ठूलो कारोबार गर्ने व्यापारिक प्रतिष्ठान बढेको समेत अर्थ लाग्छ।
अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ हजार ४०६ करदाता अन्तशुल्कमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
कुल प्यान नम्बर लिने करदाताको संख्या ६३ लाख ४० हजार पुगेको छ।
जसमध्ये व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ४२ लाख ६३ हजार, करकट्टी गर्ने निकायले लिएको स्थायी प्यान ८० हजार ४३ पुगेको छ। त्यस्तै, व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ९२ हजार पुगेको छ।
सरकारले पारिश्रमिक भुक्तानीसहितका भुक्तानीमा अनिवार्य प्यान लागू गरेसँगै व्यक्तिगत प्यान नम्बर लिनेको संख्या निकै बढेको छ।
पछिल्लो एक वर्षमा मात्रै व्यक्तिगत प्यान लिनेको संख्या ६ लाख १७ हजारले बढेको छ। त्यस्तै, गत वर्ष मात्रै करकट्टी गर्ने निकायका ५२ हजार र व्यावसायिक स्थायी प्यान एक लाख १६ हजार दर्ता भएका छन्।