नेपालको अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण अमेरिकन मुलुक अरूवा पनि जोडिएको छ।
विगतमा अरूवासँग नेपालको औपचारिक अन्तर्राष्ट्रिय व्यापार देखिएको थिएन।
आर्थिक वर्ष २०८०-८१ मा भने यो राष्ट्रसँग नेपालले २५ लाख ३५ हजार रूपैयाँ बराबरको व्यापार गरेको छ।
अरूवा एक टापु राष्ट्र हो। जहाँ एक लाख ६ हजार मात्रै जनसंख्या छ। क्षेत्रफलको हिसाबले यो देशको क्षेत्रफल जम्मा ७५ स्क्वायर माइल छ।
गत आर्थिक वर्षमा यो राष्ट्रबाट नेपालले १२ हजार रूपैयाँ बराबरको सामान आयात गरेको छ। त्यस्तै, २५ लाख २३ हजार रूपैयाँ बराबरको सामान निर्यात गरेको छ।
नेपालले गत आर्थिक वर्षमा ९० स्क्वायर मिटर बराबरको ऊनको भुइँ ढाक्ने सामान पठाएको छ। जसको निर्यात मूल्य २४ लाख ९८ हजार रूपैयाँ बराबरको छ।
त्यस्तै, २५ हजार रूपैयाँमा पाँच वटा टाइम रेकर्डर निर्यात भएको छ।
त्यस्तै, १० वटा स्मार्ट घडी र अन्य सामान गरी १२ हजार रूपैयाँ बराबरको सामान आयात भएको छ।
गत वर्ष नेपालले १६९ राष्ट्रसँग १७ खर्ब ४५ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ।
जसमध्ये एक खर्ब ५२ अर्बको निर्यात र १५ खर्ब ९२ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ।