उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै बोतलमा बिक्री हुने सबै किसिमका पेय पदार्थदेखि मदिरा, खैनी र गुट्खा बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
गाउँपालिकाले सबै सरोकारवालालाई सम्बोधन गर्दै ती सामग्रीको आयात, बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ मा सम्पन्न कार्यपालिका बैठकले 'बियर, रक्सी, ड्यू, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्तीजन्य चुरोट, गुट्खाको बिक्री वितरणमा प्रतिबन्ध लगाउने' निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरूङले निकालेको सूचनामा उल्लेख छ।
असार १८ देखि यस्ता सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाइएको र हाल आयात भइसकेको हकमा आगामी असोज १५ भित्र बिक्री गरिसक्न भनिएको छ।
मदिरा, पेय तथा सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने, स्थानीय अर्थतन्त्र कमजोर बनाउने, महिला तथा घरेलु हिंसाका घटना बढाउने भन्दै प्रतिबन्ध लगाएको गाउँपालिकाको भनाइ छ।
उदयपुरको विकट मानिने यो गाउँपालिकामा ९ हजार ६८९ जनसंख्या छ।