नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट यथार्थपरक र संयमित भएको बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कृषि, पर्यटन लगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको उनले बताए। यद्यपी, अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
यस्तै, उनले आन्तरिक राजस्वमा भने समस्या भएको बताए। भूतप्रभावी करको दायित्वको दवाव परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनले बताए।
यस्ता नीतिले व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनको भनाइ छ।
एकातर्फ स्रोत बढाउने लक्ष्य लिने तर आर्थिक शिथिलता ल्याउने बजेट ल्याउँदा तालमेल नमिल्ने उनले बताए। साथै, राज्यले मालवस्तुको मूल्यांकन गर्ने तर्फ जान नहुने पनि उनको भनाइ छ।
आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम पनि बढ्ने पनि उनले बताए। अध्यक्ष अग्रवालले अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा बजेट विनियोजन गर्ने अभ्यास गर्नुपर्ने उनले बताए।
बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सामान्य अवस्थामा कम भए पनि अर्थतन्त्र चलायमान बनाएर लक्ष्य पूरा गर्न चुनौतीपूर्ण हुने उनी बताउँछन्।
आर्थिक वृद्धिको उक्त लक्ष्य प्राप्ति गर्न निजी क्षेत्रतर्फको कर्जा प्रवाह १५ प्रतिशतसम्मले बढ्नुपर्ने उनको भनाइ छ।
'अहिले कर्जा प्रवाह ५ प्रतिशत हारहारीमा वृद्धि भएको छ। यो अवस्थामा आर्थिक वृद्धि धेरै हुँदैन। तसर्थ, लक्षित आर्थिक वृद्धि हासिल गर्न कर्जाको वृद्धिदर १५ प्रतिशतसम्म हुनुपर्छ,' अध्यक्ष अग्रवालले भने, 'त्यसको लागि ब्याजदर कम हुनुपर्छ।'
यसैगरी कर्जा प्रवाह बढाउन वित्तीय पहुँच बढाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने उनको भनाइ छ।
यस्तै, पुँजीगत खर्च गर्नमा उच्च प्राथमिकता दिनुपर्ने उनी बताउँछन्। आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशक, आलु प्याजको मूल्य अभिवृद्धि कर हटाउने निर्णय लिनु सकारात्मक भएको उनी बताउँछन्।
यस्तै विद्युत प्रसारण लाइन र वितरणमा निजी क्षेत्रको सहभागिता गराउने उद्देश्य राम्रो भएको उनले बताए। तर, विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने नीति नआउनु दुःखद पक्ष भएको उनको भनाइ छ।
यस्तै, आयकरको छुटको सीमा नबढाउनु पनि दुःखत पक्ष भएको उनले बताए।