यो वर्ष सवारी साधनको आयातमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको तुलनामा मूल्य, परिमाण र राजस्व सबै हिसाबले गाडीको कारोबार बढेको हो।
भन्सारको तथ्यांक अनुसार परिमाण र मूल्यको अनुपातमा राजस्व वृद्धिदर भने धेरै छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा परिमाणात्मक रूपमा सवारी साधन र त्यसको पाटपुर्जाको आयात ३३ प्रतिशतले बढेको छ।
२०७९ साउनदेखि चैतसम्म तीन करोड ९३ लाख २४ हजार यस्ता साधन तथा सामग्री आयात भएको थियो।
२०८० साउनदेखि चैतसम्म भने पाँच करोड २४ लाख ६९ हजार वटा आयात भएको छ।
आयात मूल्यका हिसाबले अघिल्लो नौ महिनामा ३६ अर्ब ४४ करोड रूपैयाँ बराबरको भएको थियो। यो वर्ष नौ महिनामा ५५ अर्ब ४८ करोड रूपैयाँ बराबरको भएको छ।
भन्सार विन्दुमा उठ्ने राजस्व गत वर्ष नौ महिनामा २४ अर्ब आठ करोड रूपैयाँ बराबरको मात्रै भएको थियो। यो वर्ष बढेर ३९ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ।
यिनै साधन तथा पाटपुर्जाको परिमाणात्मक आयात ३३ प्रतिशतले बढ्दा आयात मूल्य ५२ प्रतिशतले बढेको छ। राजस्व ६५ प्रतिशतले बढेको छ।
भन्सार प्रशासनले विद्युतीय गाडीमा भएको छुटका कारण सवारी साधनबाट उठ्ने राजस्व तुलनात्मक रूपमा कम उठेको तर्क गरिरहेका छन्।
गत फागुनमा संसदको अर्थ समितिमा भन्सार विभागका तत्कालीन महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय गाडीलाई दिइएको छुटका कारण मात्रै ३३ अर्ब कम राजस्व उठेको बताएका थिए। बिजुली गाडीप्रतिको आकर्षण बढ्दै जान थालेपछि सरकारले क्रमशः बढी प्रयोग हुने गाडीको राजस्व बढाउन थालेको छ। यसको प्रभाव राजस्वमा देखिन पनि थालेको छ।
चालु वर्षको बजेटबाट सरकारले बिजुली गाडीको क्षमताको आधारमा पाँच वर्गमा विभाजन गरेको थियो। त्यसमध्ये एउटा वर्गको राजस्व बढाएको थियो, दुइटाको अघिल्लो वर्षकै बराबर र दुइटाको घटाएको थियो।
सरकारले ५१ देखि १०० किलोवाटका विद्युतीय सवारी साधनको भन्सार दर बढाएको थियो। यही वर्गका गाडीको आयात उल्लेख्य बढेको छ।
नौ महिनामा ११ अर्ब ४६ करोड रूपैयाँ बराबरका चार हजार ७७ वटा गाडी आयात भएको छ। यी गाडीको आयातबाट भन्सार विन्दुमा पाँच अर्ब ६२ करोड ८१ लाख रूपैयाँ बराबरको राजस्व उठेको छ। अघिल्लो वर्षमा यस्तो गाडीको आयातमा अन्तशुल्क लाग्दैन थियो। भन्सार महसुल १० प्रतिशत मात्रै थियो।
चालु वर्षको बजेटले १० प्रतिशत अन्तशुल्क र १५ प्रतिशतले भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो।
गत आर्थिक वर्षसम्म १०० किलोवाटसम्मको गाडीलाई १० प्रतिशत भन्सार महसुल थियो। चालु वर्षमा यसलाई दुई वर्गमा विभाजन गरेर ५० किलोवाटसम्म १० प्रतिशत र ५१ किलोवाटदेखि १०० किलोवाटसम्मलाई अन्तशुल्क र भन्सार गरी २५ प्रतिशत राजस्व लगाइएको थियो।
२०७९/८० को नौ महिनामा एकदेखि १०० किलोवाटसम्मका दुई हजार ३७९ वटा गाडी आयात भएको थियो। यो वर्ष एकदेखि ५० किलोवाटसम्मका दुई हजार ९०२ वटा गाडी आयात भएको छ। यी गाडीमा मूल्य अभिवृद्धि करबाहेक १० प्रतिशत अन्तशुल्क लाग्छ। यस्ता गाडीको आयातबाट एक अर्ब १६ करोड रूपैयाँ राजस्व उठेको छ।
गत वर्ष नौ महिनामा एकदेखि १०० किलोवाटसम्मको गाडीको आयातबाट एक अर्ब ६२ करोड रूपैयाँ मात्रै राजस्व उठेको थियो। यो वर्ष सात अर्ब ३८ करोड रूपैयाँ राजस्व उठेको छ।
१०१ देखि २०० किलोवाट गाडीको आयात पनि बढेको छ। राजस्व भने बढेको छैन। नौ महिनामा ४६ करोड ८८ लाख रूपैयाँको आयात हुँदा ३२ अर्ब ६८ करोड रूपैयाँ राजस्व उठेको छ। गत वर्ष २७ करोड १२ लाखको आयात हुँदा २४ करोड ८७ लाख रूपैयाँ राजस्व उठेको थियो।
यो वर्ष यस्ता गाडीमा अन्तशुल्क र महसुल गरी २० प्रतिशत राजस्व घटाइएको थियो।
नौ महिनामा ९३ वटा यस्ता गाडी आयात भएको छ। यिनमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क उठाइन्छ।
यो वर्ष सबभन्दा धेरै राजस्व १५ सयदेखि तीन हजार सिसीसम्मको इन्जिन आयातबाट भएको छ। नौ महिनामा दुई अर्ब २४ करोड रूपैयाँ बराबरका दुई हजार १० वटा इन्जिन आयात भएको छ। पाँच अर्ब ७७ करोड बढीको भन्सार राजस्व संकलन भएको छ।
यस्तो इन्जिन आयातमा ८० प्रतिशत महसुल, ६५ प्रतिशत अन्तशुल्क र त्यसमाथि मूल्य अभिवृद्धि कर लगाउँदा २३५ प्रतिशत राजस्व पुग्छ।
५० देखि १२५ सिसीका मोटरसाइकलको आयात पनि बढेको छ। नौ महिनामा तीन अर्ब ४६ करोड रूपैयाँमा ३६ हजार ६२३ वटा यस्ता साधन आयात भएको छ। राजस्व चार अर्ब ११ करोड रूपैयाँ संकलन भएको छ। यस्तो साधनमा समग्र रूपमा १०५ प्रतिशत भन्सार राजस्व लाग्छ।
'अनएसेम्बल्ड' मोटरसाइकलको आयात पनि बढेको छ। नौ महिनामा दुई अर्ब ३८ करोड रूपैयाँ बराबरका १८ हजार ३४९ वटा आयात भएको छ। यसबाट दुई अर्ब नौ करोड रूपैयाँ बराबरको राजस्व उठेको छ।
यी साधनको आयातमा ३० प्रतिशत महसुल र ४० प्रतिशत अन्तशुल्क लाग्छ।