जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका विध्वंशात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले छानबिन तीव्र पारेको छ।
भदौ २३ गते गोली लागेर नयाँबानेश्वरमै १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित थुप्रै सरकारी संस्था, व्यावसायिक भवन र प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गरेका थिए। केही प्रमुख राजनीतिक नेताहरूका निजी घरदेखि पार्टी कार्यालय, भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, हायात होटल लगायतमा पनि लुटपाट, तोडफोड र आगजनी गरिएको थियो। तीन जना प्रहरीको हत्यासमेत भएको थियो।
प्रहरीले सिसिटिभी फुटेज र भिडिओका आधारमा यी सबै घटना संलग्नहरूलाई पक्राउ गर्दै छानबिन अघि बढाएको हो।
तिहार अघिबाट सुरू भएको छानबिन क्रममा अहिलेसम्म करिब २५० जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्ने सबभन्दा बढी काठमाडौंमा छन्। त्यस दिन सबभन्दा धेरै क्षति पनि काठमाडौंमै भएको थियो।
जिल्ला प्रहरी परिसरका सूचना अधिकारी तथा एसपी पवन भट्टराईका अनुसार काठमाडौंमा मंगलबारसम्म ११० जना पक्राउ परेका छन्। तीमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने ३२ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको र ७२ जनालाई हाजिर जमानीमा छाडिएको छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आपराधिक उपद्रवमा संलग्न भन्दै ५४ जनामाथि अनुसन्धान भइरहेको छ। तिनमा कोही सिंहदरबार जलाउने थिए भने कोही बानेश्वरको वाणिज्य बैंक जलाउने र लुट्ने थिए। यस्ता व्यक्तिमा कतिपय आपराधिक पृष्ठभूमिका छन्।
उदाहरणका लागि — सिंहदरबारअगाडि प्रहरीको एसएलआर हतियार प्रदर्शन गर्दै आगजनीमा संलग्न भनी पहिचान गरिएका राजु परियार पहिले पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
ललितपुर महानगरपालिकाको कुसुन्ती बस्ने ३६ वर्षीय परियारविरूद्ध दुईवटा ज्यान मार्ने उद्योग, तीनवटा ठगी, दुईवटा अभद्र व्यवहार र एउटा ठगी मुद्दा चलेको प्रहरीले जनाएको छ।
त्यस्तै, भदौ २४ गते नै बानेश्वरमा प्रहरीमाथि आक्रमण गरिएका विभिन्न तस्बिर तथा भिडिओ सार्वजनिक भएका थिए। कतिपयले प्रहरीका वर्दी फुकाल्न लगाएर उनीहरूलाई हात उठाउँदै हिँडाएका भिडिओ बाहिर आएका थिए। केही प्रहरीलाई खोलामा लखेट्दै ढुंगा हानिएको थियो। उक्त घटनामा संलग्न भनी दोलखाको सैलुङ घर भई काठमाडौंको जडिबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
बानेश्वरमै हतियारसहित देखिएको आरोपमा धनकुटाका नवीन राई र सिन्धुपाल्चोकका धिरज थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रहेको भवनमा आगजनी गरेको भन्दै निरज पोदारलाई पक्राउ गरिएको छ।
बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी गरेको आरोपमा दोलखाका दिपक श्रेष्ठ र सिरहाका नरेश कुमार पक्राउ परेका छन्।
सिंहदरबारभित्रको नेपाली सेनाकै ब्यारेकमा छिरेको भन्दै सिन्धुलीका राहुल बोगटी र उदयपुरका सरोज पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी हत्याको आरोपमा समातिए १२ जना
भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो।
महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या आरोपमा अहिलेसम्म १२ जना पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
परिसरका अनुसार महाराजगन्जका असई मिलन रायको हत्या आरोपमा काभ्रेका युवराज क्यापछाकी र 'सोनाम' भनिने बुद्धिलाल तामाङलाई सुरूमा पक्राउ गरिएको थियो। त्यसपछि महाराजगन्जकै जवान उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परे। कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्यामा संलग्न भएको आरोपमा अनुपम भण्डारीलाई पक्राउ गरियो।
त्यसपछि तिहारको बीचमा प्रहरीले थप पाँच जनालाई पक्राउ गर्यो। गोरखाका २१ वर्षीय सोमबहादुर गुरूङ, तनहुँका २१ वर्षीय राजीव गुरूङ, तनहुँकै २१ वर्षीय युनिक श्रेष्ठ तथा सर्लाहीका १७ र रामेछापका १६ वर्षीय किशोर पक्राउ परेका हुन्। उनीहरू सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
सोमबार मात्रै प्रहरी वृत्त महाराजगन्जले थप दुई जनालाई पक्राउ गरेको छ। सिन्धुली गोलञ्जोरका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङ पक्राउ परेका हुन्। सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई सुकेधाराबाट पक्राउ गरिएको हो। यी दुई जनाले महाराजगन्जका प्रहरी जवान उत्तम थापामाथि कुटपिट गर्नुका साथै प्रहरी कार्यालय तोडफोड, ढुंगामुढा र आगजनी गरेको आरोप छ।
प्रहरी कार्यालय आगजनीमा संलग्न १५ जना पक्राउ
प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीयसहित १५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरका २० वर्षीय विकाश आग्री, २७ वर्षीय भुवन शाही, २५ वर्षीय अनिल बुढा, महोत्तरीका २५ वर्षीय सुजन वाइवा, २४ वर्षीय गोविन्दकुमार ठाकुर र दोलखाका २४ वर्षीय युवराज भण्डारी छन्।
त्यस्तै, गोरखाका २१ वर्षीय निखिल भुजेल, दोलखाका २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरका २७ वर्षीय राजेश तामाङ, काठमाडौंका ३२ वर्षीय मोहन तामाङ, नुवाकोटका ३१ वर्षीय सुवास तामाङ, सिन्धुलीका २५ वर्षीय सुचेन तामाङ, काभ्रेका ४१ वर्षीय सुवाष गोतामे, सिन्धुपाल्चोकका २९ वर्षीय सविन राई पक्राउ परेका छन्।
भारतको जयपुर घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय सोयब खान पनि पक्राउ परेको एसपी भट्टराईले जानकारी दिए।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कास्की प्रहरीमा आक्रमण गरी हतियार लुटपाट गर्ने १८ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूमा भदौ २४ गते आक्रमण गरी तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये १० जनालाई मंगलबार जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ भने ८ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ। यसरी पक्राउ परेका व्यक्तिहरू विगतमा पनि विभिन्न अपराधमा संलग्न रहेको, कारागार र प्रहरी हिरासतबाट भागेका र मदिरा तथा लागुपदार्थ सेवन गरेका व्यक्तिहरू भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।
उनका अनुसार प्रहरी कार्यालय तोडफोड, आगजनी र हतियार लुटपाट मच्चाएको आरोपमा पक्राउ परेका धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका– ४ का राजेश मक्रान्तीमाथि यसअघि २०७९ मा अभद्र व्यवहार मुद्दा चलेको भेटिएको छ।
त्यस्तै, पोखरा– ११ फूलबारी बस्ने नारायण शाही पनि प्रहरी कार्यालयमा आक्रमण गरेको आरोपमा पक्राउ परेका छन्। उनी पनि २०६१ सालमा सवारी साधन तोडफोड गरी क्षति पुर्याएको आरोपमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालय आगजनी गरी हतियार जलाएको आरोपमा पोखरा– १ मोहोरिया टोल बस्ने ४३ वर्षीय दिपु शाही, अन्नपूर्ण गाउँपालिका– ५ नयाँपुलका लङबहादुर नेपाली, सोही स्थानका अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की, पूर्णबहादुर नेपाली पक्राउ परेका छन्।
यीमध्ये लङबहादुर अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा थिए। उनी भदौ २४ गते हिरासत फोडेर फरार भई प्रहरी चौकी नयाँपुल पुगेर तोडफोड, आगजनी र हतियार लुटेर भागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालय आक्रमण गर्ने, प्रहरी पोसाक दुरूपयोग गर्ने लगायत कार्य गरेको भन्दै अपराधिक उपद्रव मुद्दामा ८ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ। रिहा हुनेहरूमा अमृत घले, चन्द्रबहादुर गुरूङ, दिपेश शाही, सुरेश गुरूङ, सागर परियार, सागर अधिकारी, राजेश शाही र दिपेश शाह रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
जेन-जी आन्दोलनमा घुसपैठ गरेर लुटपाट, तोडफोड र आगजनी गर्ने व्यक्ति र गिरोहलाई भिडिओ लगायत प्रमाणका आधारमा खोजबिन र अनुसन्धान तीव्र पारेको एसपी कार्कीले बताए।
प्रहरीबाट लुटिएका हतियार, फरार रहेका कैदीबन्दी र हिरासतबाट फरार रहेका बन्दी खोजीलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए।
'हामीले पहिलो प्राथमिकतामा लुटिएका हतियार फिर्ता, कैदीबन्दीको खोजतलासलाई राखेका छौं,' उनले भने, 'त्यसपछि अरू सरकारी र निजी प्रतिष्ठानमाथि तोडफोड, आक्रमण र लुटपाट गर्नेहरूलाई पक्राउ गर्छौं।'
***