बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातले भारतको दक्षिणी तटीय क्षेत्रमा व्यापक असर पुर्याइरहेको छ। नेपालको मौसम प्रणालीमा समेत यसको प्रभाव देखिनेछ।
मौसम पूर्वानुमान महाशाखाले नेपालको कोशी, मधेस र बागमती प्रदेशका २६ वटा जिल्ला मोन्था चक्रवातबाट प्रभावित हुने जानकारी दिएको छ। कोशी र मधेसका केही स्थानमा त भारी वर्षा हुने प्रक्षेपण पनि गरिएको छ।
यस्ता चक्रवात मौसमी परिवर्तनका हिसाबले जति महत्त्वपूर्ण हुन्छ, यसको नामकरण प्रक्रिया उति नै रूचिपूर्ण छ।
शरद ऋतुमा उत्पन्न भएको यो चक्रवातलाई 'मोन्था' नाम किन दिइयो त?
विपदविद धर्मराज उप्रेती 'मोन्था' शब्द थाइल्यान्डको भाषाबाट आएको बताउँछन्। थाई भाषामा मोन्थाको अर्थ बास्नादार फूल हो।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले भने मोन्थालाई सुगन्धित कमलको फूल या समुद्रकी रानी भनेर व्याख्या गरिरहेका छन्।
थाई संस्कृतिमा कमलको फूललाई समुद्रसँग जोडेर हेर्ने गरिएकाले यो चक्रवातको नाम राख्दा थाइल्यान्डले यही शब्दा सुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
उत्तरी हिन्द महासागर (बंगालको खाडी र अरब सागर) मा आउने चक्रवातहरूको नामकरण विश्व मौसम संगठनको प्यानलले गर्छ। यो प्यानलमा भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, ओमान, इरान, कतार, साउदी अरब, यमन, संयुक्त अरब इमिरेट्स (युएई) लगायत देश छन्। यी देशले पालैपालो नाम सुझाउँछन्।
प्रत्येक देशले आठ–आठवटा नाम सुझाउने र सुझाइएका नाम पालैपालो प्रयोग हुने पनि विदेशी समाचार संस्थाहरूले बताएका छन्।
नाम सुझाउँदा स्थानीय भाषा, संस्कृति र प्रकृतिसँग जोडिएको हुनुपर्छ। लिंगद्वेषी शब्द ग्राह्य हुँदैन।
यसअघि निवार, बुरेवी, दाना लगायत नाम सुझाइएका थिए। 'निवार' इरानीले प्रस्ताव गरेको नाम हो। त्यस्तै, 'बुरेवी' माल्दिभ्स र 'दाना' यमनले प्रस्ताव गरेका नाम हुन्। दाना चक्रवात अघिल्लो कात्तिक पहिलो र दोस्रो साता सक्रिय भएको थियो।
थाइल्यान्डले सन् २०२० मा मोन्था नाम प्रस्ताव गरेको थियो। रोलक्रमअनुसार उनको नाम अहिले प्रयोग भएको हो।
मोन्था चक्रवात अहिले भारतको आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीच काकिनाडा नजिकैको तटमा छ। यो भारतको नरसापुर क्षेत्रमा राति ११ः३० देखि १२ः३० बजेसम्म जमिनको सतहमा आएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
यो मछलीपट्टनमबाट ५० किमी उत्तरपूर्व र काकिनाडाबाट ९० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा छ।
मोन्था चक्रवातका कारण आन्ध्र प्रदेशका चार जिल्लामा भारी वर्षा भइरहेको छ। रूखहरू उखेलिने र बिजुलीका पोल भाँचिने घटना भइरहेका छन्। भारतकै उडिसा, तमिलनाडुमा पनि भारी वर्षा भइरहेको छ।
थप दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेकाले नेपालको कोशी, मधेसमा पनि सतर्कता अपनाउन भनिएको छ।