चैतमा आयकर वृद्धिदरमा ब्रेक लागेको छ।
अघिल्ला महिनाहरूमा औसत राजस्व १० प्रतिशतले मात्रै बढ्दा आयकरको वृद्धिदर २० प्रतिशतसम्म पुगेको थियो।
आन्तरिक राजस्व विभागका अनुसार चैत महिनामा आयकर वृद्धिदर जम्मा ०.०९ प्रतिशत छ।
२०७९ को चैत महिनामा ३३ अर्ब १० करोड २८ लाख रूपैयाँ संकलन भएको थियो। यो वर्ष ३३ अर्ब १३ करोड ४२ लाख रूपैयाँ संकलन भएको छ।
आयकरका लागि पुस, चैत र असार महिना महत्वपूर्ण मानिन्छ। आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ। थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै असार महिनामा थप ३० प्रतिशत करसहित शतप्रतिशत कर बुझाउनु पर्ने हुन्छ। पुस महिनामा आयकरमा सुधार देखिए पनि चैतमा देखिएको छैन।
आयकरमा सबभन्दा धेरै योगदान ठूला करदाता कार्यालयको छ। ठूला करदाता कार्यालयले वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने (५४३) करदाताको कर प्रशासन गर्छ।
ठूला करदाता कार्यालयबाट उठ्ने राजस्व गत वर्षकोभन्दा केही घटेको छ। यो कार्यालयबाट गत वर्ष चैतमा २० अर्ब २४ करोड रूपैयाँ आयकर घटेको थियो। यो वर्ष भने दुई करोड घटेर २० अर्ब २२ करोड रूपैयाँ संकलन भएको छ।
नौ महिनामा समग्र आयकर भने १३ प्रतिशतले बढेको छ।
आन्तरिक राजस्व विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म एक खर्ब ८७ अर्ब ७९ करोड रूपैयाँ संकलन भएको छ।
चैतमा बहाल करसमेत उल्लेखनीय घटेको छ। गत वर्ष चैतको तुलनामा बहालकर ३१ प्रतिशतले घटेर १८ करोड ७९ लाख रूपैयाँ संकलन भएको छ। नौ महिनामा भने यस्तो कर १० प्रतिशतले घटेर एक अर्ब ७५ करोड रूपैयाँ संकलन भएको छ।
आन्तरिक तर्फको मूल्य अभिवृद्धि कर चैतमा उल्लेखनीय सुधार भएको देखिएको छ। गत वर्ष चैतको तुलनामा यस्तो कर १७ प्रतिशतले बढेर ११ अर्ब ८७ करोड रूपैयाँ पुगेको छ। नौ महिनाको वृद्धिदर भने १० प्रतिशतको छ। साउनदेखि चैतको अवधिमा यस्तो कर ८७ अर्ब २० करोड रूपैयाँ उठेको छ।
लगातार घटिरहेको आन्तरिक तर्फको अन्तशुल्कमा चैतमा सामान्य सुधार देखिएको छ। २०७९ चैतमा नौ अर्ब ४७ करोड रूपैयाँ अन्तशुल्क संकलन भएको थियो। यो वर्ष चैतमा भने १.३९ प्रतिशतले बढेर नौ अर्ब ६० करोड रूपैयाँ पुगेको छ।
नौ महिनामा भने २.५२ प्रतिशतले घटेर ७२ अर्ब ४१ करोड रूपैयाँ संकलन भएको छ।
आन्तरिक राजस्व विभाग मातहतबाट उठ्ने समग्र राजस्वमा ९.१४ प्रतिशतको सुधार देखिएको छ। चालु वर्षमा यस्तो राजस्व तीन खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ।
यता भन्सार विभाग मातहत उठ्ने राजस्व चैतमा ६ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार चैतमा ३६ अर्ब २२ करोड रूपैयाँ राजस्व उठेको छ।
गत वर्ष चैतमा ३३ अर्ब ७७ करोड रूपैयाँ संकलन भएको थियो।
समग्रमा अन्तर्राष्ट्रिय व्यापार घटेर पनि भन्सार राजस्व भने बढिरहेको छ।