गत आर्थिक वर्षदेखि लगातार घटेको अन्तर्राष्ट्रिय व्यापारमा सुधार आउन सकेको छैन। फागुन महिनामा एक खर्ब ३२ अर्ब रूपैयाँको मात्रै आयात व्यापार भएको छ।
यो पछिल्लो चार वटा फागुन महिनामा भएको आयातको तुलनामा सबभन्दा कम हो। वर्ष २०७८ को फागुनमा एक खर्ब ४० अर्ब रूपैयाँको सामान आयात भएको थियो।
वर्ष २०७९ को फागुनमा एक खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको थियो। गत वर्ष २९ प्रतिशतले घटेर पनि एक खर्ब ३९ अर्ब रूपैयाँ आयात भएको थियो।
गत असोज महिनाबाहेक पछिल्लो १९ महिना लगातार आयात घटेको छ।
गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि ओरालो लागेको आयात १४ महिनापछि २०८० असोजमा आइपुग्दा बढेको थियो। भन्सार विभागको तथ्यांक अनुसार असोज महिनासम्म १.६९ प्रतिशत आयात बढेको थियो।
तर कात्तिकपछि फेरि आयात घट्यो। फागुन महिनासम्म आउँदा समग्र आयात २.६६ अंकले घटेको छ।
चालु वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) मा १० खर्ब ३० अर्बको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ। यो पछिल्लो तीन वर्षयताकै न्यून आयात हो।
आर्थिक वर्ष २०७७/७८ पहिलो आठ महिनामा १३ खर्ब आठ अर्ब रूपैयाँको यस्तो सामान आयात भएको थियो।
आर्थिक वर्ष २०७९/८० को यो अवधिमा १० खर्ब ५८ अर्ब रूपैयाँको यस्तो वस्तु आयात भएको थियो।
लगातार आयात घट्नुले बजारको मागमा सुधार आउन नसकेको र भन्सार छलीबाट कारोबार बढेको भन्सार विभागका अधिकारीहरूको बुझाइ छ। यसका साथै ठूलो परिमाणमा आयात हुने वस्तुको बजार मूल्यमा आएको कमीको कारण पनि देखिएको छ।
लगातार अनपेक्षित आयात घटेपछि तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले चासो व्यक्त गरेका थिए। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले आयात घट्नुको एउटा कारण भन्सार छली बढेको हुन सक्ने भन्दै विभिन्न १५ नाकाबाट छली हुन सक्ने सामानको विवरण नै तयार पारेर पेस गरेका थिए।
अघिल्लो आर्थिक वर्षमा आयात घटेको कारण पनि यसवर्ष २५ देखि ३० प्रतिशत आयात बढ्ने र ४० प्रतिशत राजस्व बढ्ने आकलन सरकारको थियो।
आयात घटे पनि समग्रमा राजस्व संकलन भने बढेको छ। केही वस्तुहरूको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट खारेज गरिएको कारण समग्र भन्सार राजस्व बढे पनि लक्ष्यको तुलनामा भने ६५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।
तातोपानी र रसुवा भन्सार कार्यालयबाहेक कुनै पनि कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छनैन्। भन्सार विभागले फागुन मसान्तसम्म चार खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, यो अवधिमा दुई खर्ब ७१ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
अघिल्लो वर्षको तुलनामा राजस्व ८.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आठ महिनाको अवधिमा भन्सार राजस्व दुई खर्ब ५० अर्ब रूपैयाँ मात्रै संकलन भएको थियो। भन्सार विभागका महानिर्देशक पौडेलले भन्सार अनुगमन तथा निरीक्षण बढाएको, राजस्व नीतिमा गरिएको सुधारको प्रभाव परेको बताए।
यता फागुन महिनामा निर्यात भने बढेको छ। भन्सार तथ्यांक अनुसार फागुन महिनामा मात्रै १३ अर्ब ७९ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष फागुन महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ मात्रै निर्यात भएको थियो।
आठ महिनाको अवधिमा भएको निर्यात भने गत वर्षको तुलनामा ३.९९ प्रतिशतले कम छ। साउनदेखि फागुनसम्म एक खर्ब ६१ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष यो अवधिमा एक खर्ब चार अर्ब ७९ करोड रूपैयाँको निर्यात भएको थियो।
माघ महिनासम्म समग्र निर्यात ७ प्रतिशतले कमी आएकोमा फागुनमा घटेर करिब चार प्रतिशत मात्रै न्यून देखिएको हो।