अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारको परीक्षण तत्काल थालिहाल्न निर्देशन दिएका छन्।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ता गर्नुअघि नै रक्षा मन्त्रालयलाई आणविक हतियार परीक्षण पुनः थालिहाल्न निर्देशन दिएका हुन्।
त्यसबारेमा उनले आफ्नै ट्रुथ सोसल अकाउन्टमा समेत ट्रम्पले उल्लेख गरेका छन्।
'अन्य देशहरूले निरन्तर परमाणु परीक्षण गरिरहेका कारण, मैले रक्षा विभागलाई समान आधारमा हाम्रो परमाणु परीक्षण सुरु गर्न आदेश दिएको छु। यो प्रक्रिया तुरुन्तै सुरु हुनेछ,' ट्रम्पले लेखेका छन्।
उनले परमाणु हतियारमा अमेरिका पहिलो स्थानमा, रुस दोस्रो स्थानमा तथा चीन निकै टाढा र तेस्रो स्थानमा रहेको बताएका छन्। आगामी पाँच वर्षभित्र दुवै देश बराबरी स्तरमा पुग्ने पनि ट्रम्पले बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘पोसेइडन’ नामक आणविक शक्ति सञ्चालित सुपर टर्पेडोको सफल परीक्षण भएको घोषणा गरेका थिए।
सैन्य विज्ञहरूले उक्त हतियार समुद्री किनारका क्षेत्रहरूमा विशाल विकिरणयुक्त सुनामी ल्याउन सक्षम भएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
पुटिनले अक्टोबर २१ मा नयाँ ‘बुरेभेस्टनिक’ क्रूज मिसाइल परीक्षण गरेका थिए भने २२ अक्टोबरमा आणविक प्रक्षेपण अभ्यास सञ्चालन गरेका थिए।
ट्रम्पले पछिल्ला हप्ताहरूमा रुसप्रति कठोर वक्तव्य र नीतिगत कठोरता देखाउँदै आएका छन्।
अमेरिकाले सन् १९९२ पछि कुनै पनि प्रत्यक्ष परमाणु परीक्षण गरेको छैन। परीक्षणमार्फत नयाँ हतियारको प्रभावकारिता र पुराना हतियार अझै प्रयोगयोग्य छन् कि छैनन् भन्ने प्रमाणित गरिन्छ।
सैन्य विश्लेषकहरूका अनुसार अमेरिकाको यो कदम केवल प्रविधिक तयारी मात्र नभई रणनीतिक सन्देश पनि हो।
अमेरिकाले पहिलोपटक सन् १९४५ जुलाईमा न्यू मेक्सिकोको अलामोगोर्डोमा २० किलोटन क्षमताको बम परीक्षण गरी विश्वमा परमाणु युगको सुरुवात गरेको थियो।
त्यसपछि त्यही वर्ष जापानका हिरोशिमा र नागासाकीमा बम खसाल्दै दोस्रो विश्वयुद्धको अन्त्य गरेको थियो।
ट्रम्पले परमाणु हतियार परीक्षण गर्न रक्षा मन्त्रालयलाई दिएको निर्देशनबारे दक्षिण कोरियामा अमेरिका-चीन व्यापार वार्ताका क्रममा प्रश्न उठेको छ।
राष्ट्रपति ट्रम्प र सीबीच भेटवार्ता हुँदै गर्दा एक जना पत्रकारले ट्रम्पसँग परमाणु हतियार परीक्षणबारे प्रश्न गरेको भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। त्यसबारेमा ट्रम्पले ती पत्रकारलाई जबाफ भने दिएनन्।