चालु आर्थिक वर्ष २०८०-८१ को पाँच महिना (साउनदेखि मंसिरसम्म)मा आयात ३.३९ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ६४ अर्ब रूपैयाँको आयात भएकोमा यस वर्ष यो अवधिमा आयात ६ खर्ब ४२ अर्बमा सीमित भएको हो।
आयात घटेपनि राजस्व भने बढेको छ। गत आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ५४ अर्ब रूपैयाँ राजस्व उठेकोमा चालु आर्थिक वर्षको पाँच महिनामा एक खर्ब ७० अर्ब रूपैयाँ उठेको छ।
मासिक आधारमा भने मंसिर एक महिनामा आयात २३ प्रतिशतले वृद्धि भएको छ।
कात्तिकमा एक खर्ब चार अर्ब रूपैयाँको आयात भएकोमा मंसिरमा एक खर्ब २९ अर्ब ७० करोड रूपैयाँको आयात भएको हो। कात्तिकमा चाडपर्व परेकोले पनि सार्वजनिक विदाको दिन धेरै हुँदा आयात घटेको थियो।
यद्यपी मंसिरमा भएको आयात यो आर्थिक वर्षको मासिक औसतभन्दा धेरै हो। पाँच महिनामा मासिक औसत एक खर्ब २८ अर्ब ४४ करोडको आयात भएको छ।
भदौ र असोजमा भने उच्च आयात भएको थियो। चाडपर्व लक्षित आयात धेरै हुने भएकोले पनि सो समयमा मासिक आयात धेरै भएको हो। सो समय एक खर्ब ३० अर्बदेखि एक खर्ब ४८ अर्ब रूपैयाँसम्म आयात भएको थियो।
वार्षिक रुपमा भने आयातसँगै निर्यात पनि घटेको छ। पाँच महिनाको अवधिमा निर्यात ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।
निर्यात मात्र नभई आयात समेत घटेपछि व्यापार घाटा पनि कम भएको छ। गत वर्ष मंसिरसम्ममा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब रूपैयाँ भएकोमा हाल पाँच खर्ब ७९ अर्ब रूपैयाँमा सीमित भएको छ। यस्तो घाटा ३ प्रतिशतले घटेको हो।