अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताएका छन्।
बुधबार अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रका धेरै सूचकहरूले सुधारको संकेत गरेको बताएका हुन्।
उनले विगतमा अर्थतन्त्रले धेरै चुनौती सामना गरेपनि अब सुधार हुने बताए। सरकारले अघि सारेका सुधारका नीतिको प्रभाव देखिन थालेको बताए। त्यस्तै राष्ट्र बैंकको पछिल्लो नीतिले पनि सहज बनाएको उनको भनाइ छ।
पुँजीगत खर्च गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको उनले बताए। राजस्वमा क्रमशः सुधार आएको उनको भनाइ छ।
हालसम्म भन्सार महसुल १३ प्रतिशतले बढेको, मूल्यअभिवृद्धि कर ७.१९ प्रतिशत र आयकरमा समेत १२ प्रतिशतको वृद्धिले आर्थिक क्रियाकलापमा सुधार देखाएको उनले दाबी गरे।
पुँजी बजार, घर जग्गाको क्षेत्रमा पनि सुधार देखिएको कारण मनोवल बढ्दै गएको उनको भनाइ छ।
उत्पादन वृद्धि तथा रोजगारी वृद्धिको परिमाण आउन समय लाग्ने समेत उनको भनाइ छ।