देशकै सबभन्दा बढी तरकारीको कारोबार गर्ने कालिमाटी तरकारी बजार समितिले पछिल्लो तीन दिनदेखि आलु र प्याजको मूल्यसूची तोकेको छैन। कारण कालिमाटी तरकारी बजारमा आलु,प्याज नै छैन।
ठूला व्यापारीहरूले स्थानीय बजारबाट आलु-प्याज उठाएका छैनन्, भारतबाट पनि आयात गरेका छैनन्।
काठमाडौंका अधिकांश पसलमा प्याज अहिले पाइँदैन। आलु पनि सबै ठाउँमा पाइँदैन।
'प्याज त कहीँ पाइँदैन, आलु महँगो भएको छ,' काठमाडौं अनामनगरमा तरकारीको व्यापार गर्ने लक्ष्मी अधिकारीले भनिन्, 'अब अलिदिन आलु पनि पाइँदैन भनेका छन्, आन्दोलन छ रे!'
उनले टुकुचाबाट तरकारी किनेर आफ्नो पसलबाट बेच्ने गर्छिन्।
शुक्रबारसम्म उनले आलु भने पाइएको बताएकी छिन्, तर मूल्य बढेको छ। तीन दिन अघिसम्म उनले एक धार्नी आलु १२० रूपैयाँमा किनेकी थिइन् आज भने १४० धार्नी परेको बताइन्।
कालिमाटी तरकारी बजारले भने पछिल्लो चार दिनदेखि आलु र प्याजको मूल्य नै तोकेको छैन। बजारभित्र आलु र प्याज नै नभएको कारण मूल्य नतोकिएको कालिमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
भारतले शुक्रबार प्याज निर्यातमा रोक लगाउने निर्णय गरे पनि हालसम्म निर्यातमा रोक लगाएको छैन। अर्थात् नेपाल पठाउन रोकेको छैन। अहिले आलुको आयात पनि रोकिएको होइन। स्थानीय बजारमा अहिले आलु र प्याजको सिजन नै हो। अहिले तुलनात्मक रूपमा सस्तोमा आलु पाइने समय हो।
तर किन छैन बजारमा आलु-प्याज?
कालिमाटी तरकारी बजारले नै आलु, प्याजको कारोबार नभएपछि अहिले अभाव सिर्जना भएको बताएको छ। धेरै ठाउँमा पाइँदैन, पाएको ठाउँमा महँगो छ।
'हामीले खरिद–बिक्री दुबै गरेका छैनौं, यसको प्रभाव बजारमा देखिएको हो,' नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले सेतोपाटीसँग भने।
उनीहरूले नेपाली आलु, प्याज सरकारले भ्याट लगाएको भन्दै खरिद–बिक्री रोकेको बताएका छन्।
सरकारले चालु आर्थिक वर्षमा बजेटबाट आलु, प्याज, स्याउ लगायतका कृषि उपजमा भ्याट छुट हटाउने नीति लिएको थियो। यसअघि यस्ता वस्तु भ्याट छुटको सूचीमा रहेकोमा चालु आर्थिक वर्षबाट यस्ता वस्तुलाई भ्याट लगाउने नीति सरकारले लिएको हो।
तर, सरकारको यो नीतिको प्रभाव आयातित तरकारीमा मात्रै पर्ने राजस्वका अधिकारी र अर्थमन्त्रीको दाबी छ।
अर्थमन्त्री प्रकाशशरण महतले आयातित यस्ता वस्तुमा भ्याट लगाउँदा नेपाली कृषि उपजको प्रतिस्पर्धी क्षमता बढ्ने भएकोले लगाउने निर्णय गरिएको प्रष्टोक्ति दिँदै आएका छन्।
आन्तरिक राजस्व विभागमा महानिर्देशक दीर्घराज मैनालीले सरकारको नीतिमा नै आन्तरिक कृषि उपजलाई भ्याट नलगाउने भएको बताए। उनले त कसैले भ्याट लगाएर वा भ्याटबिल काटे कारबाही हुने समेत बताए।
'प्याज, आलु र स्याउमा अहिले भ्याट लाग्यो भनिएको छ, यो आन्तरिक उत्पादनलाई लाग्दैन, हामी लिँदैनौं, कसैले लियो भने तत्काल कारबाही गर्छाैं,' महानिर्देशक मैनालीले भने।
यहाँ व्यापारीले भ्याट लगाएको विरोधमा खरिद–बिक्री रोकेका छन्। राजस्व प्रमुखले आन्तरिक उत्पादनमा भ्याट नलाग्ने र यस्तो भ्याट लिनेलाई कारबाही हुने बताएका छन्।
समस्या के हो?
आर्थिक वर्ष २०८०/८१ को बजेटमा आलु, प्याजलाई भ्याट छुट नदिने व्यवस्था गरिएसँगै कतिपय व्यापारीले कारोबारमा समस्या सिर्जना गर्दै आएका छन्। कहिले आयात नगर्ने, कहिले स्थानीय बजारको सामान नउठाउने भएको थियो। तर अर्थमन्त्री र राजस्वका अधिकारीहरूले स्थानीय उत्पादनलाई भ्याट नलगाउने र कारोबारलाई व्यवस्थित गर्न कार्यविधि ल्याउने प्रतिबद्धता गरेपछि उनीहरूले बिक्री वितरण सुरू गरेका थिए।
दसैं–तिहारको समयमा आन्तरिक राजस्व विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेपछि व्यवसायीहरू त्रसित छन्। अनुगमन गरेको करिब एक महिनापछि कारोबार नै रोकिएको छ।
तर, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १० तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ७ अनुसार साना किसान तथा व्यवसायीहरूलाई भ्याटको असर पर्दैन। बरू आयातित यस्तो सामान महँगो पर्ने भएको कारणले प्रतिस्पर्धा गर्न सहज हुन्छ।
किसानले बढी मूल्य पाउँछन्, नियमावलीको नियम ७ अनुसार ५० लाखभन्दा कम कारोबार भएका साना किसान तथा साना व्यवसायीलाई मूल्य अभिवृद्धि कर लाग्दैन। नेपाली किसानले उत्पादन गरेको आलु, प्याज र आयातित आलु, प्याजमा कम्तीमा १३ प्रतिशतको मूल्य अन्तर पर्छ। तर, किसानले उत्पादन गरेको तरकारी भ्याटमा दर्ता भएको होलसेलर वा बिचौलियाबाट साना व्यवसायीले किनेका रहेछन् भने उनीहरूलाई भ्याट सहितको मूल्य लाग्ने हुन्छ।
यदि होलसेलर भ्याटमा दर्ता भएको छ भने उसले किराना पसलेलाई बेच्दा भ्याट पनि जोडिएको हुन्छ, त्यसो हुँदा किराना पसलेलाई महँगो परेपछि उपभोक्तालाई महँगो पर्न जान्छ। यसले केही आयात र आन्तरिक उत्पादन दुबै उठाउने व्यापारीलाई केही समस्या परेको देखिन्छ।
त्यस्तै अहिलेको व्यवस्था अनुसार यदि ५० लाख रूपैयाँभन्दा बढीको आलु, प्याज उत्पादन गर्ने किसान र त्यस्तो बेच्ने व्यवसायी छ भने भ्याटमा दर्ता हुने प्रावधान छ। अहिलेको अवस्थामा भने बिक्रेताहरूले भ्याटको कारणभन्दा पनि अन्य कुनै पनि करमा नआउनुको लागि दबाब सिर्जना गरेको करका अधिकारीको भनाइ छ।
'भ्याट पर्दैन तर जहाँ दर्ता हुनुपर्छ त्यहीँ गर्नुस् भन्दा पनि मान्नु हुँदैन। यसको अर्थ कुनै पनि करमा नआउने बिलबिजक जारी नगर्ने भन्ने देखिन्छ,' एक राजस्वका अधिकारीले भने।
नेपाल आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलको भनाइः
आन्तरिक राजस्व विभागमा महानिर्देशकले पहिलेदेखि नै भ्याट लाग्दैन भन्नुभएको छ। हामीले पत्याएकै हो। तर अनुगमन गरेर ताकेता गरियो। खै भ्याट बिल भनियो। खै त भ्याटमा दर्ता भएको भनियो। यसैले हामीले कारोबार बन्द गरेका हौं।
चालु आर्थिक वर्षको बजेटदेखि आलु-प्याजमा सरकारले भ्याट लगाउने नीति ल्यायो। यसको हामी पहिले देखिनै विरोधमा थियौं।
यो विषयमा विरोध जनाउन हामी अर्थमन्त्री, दलका नेताहरू तथा आन्तरिक राजस्व विभागमा महानिर्देशककोमा गयौं। उहाँहरूले सबैले नेपाली उत्पादनलाई भ्याट नलाग्ने भन्नुभयो। त्यसपछि हामीले नियमित कारोबार गरेका थियौं।
तर, तिहारअघि सरकारले अनुगमन गर्यो र भ्याट बिल किन नकाटेको भनेर कारबाहीको धम्की दियो। भ्याटमा दर्ता किन नगरेको भन्दै हाम्रा व्यापारीहरूलाई ताकेता गर्यो। त्यसैले हामीले अहिले खरिद–बिक्री नै गरेका छैनौं।
पहिले अनुगमन गर्दा भ्याटमा दर्ता नभएको र भ्याट बिल नकाटेको भन्दै हाम्रा व्यापारीलाई ताकेता गरियो। सरकारले कार्यविधि बनाएर व्यवस्थित गर्छौं भन्यो। हामीले हुन्छ भनेर कारोबार गरेको अहिले कारबाहीको धम्की आयो। कारोबार गर्ने वातवरण नै भएन। त्यसैले रोकेको हो। हामीले आयातित आलु-प्याजको कारोबार गर्दै थियौं, नेपालीको नउठाउने तर आयातितको किन गर्ने भनेर कुनै पनि कारोबार नगरेका हौं।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्ः
आन्तरिक उत्पादनमा भ्याट लिने नीति नै छैन। हामीले लिएका पनि छैनाैं। नेपाली कृषि उपजको संरक्षणको लागि आयातित आलु-प्याजमा भ्याट लाग्दै आएको छ। म दोहोर्याएर भन्छु, आलु, प्याज र स्याउको आन्तरिक उत्पादनमा भ्याट छैन। हामीले लिँदैनौं। कसैले लिएमा कारबाही गर्छौं। यो समस्या नै छैन।
लामो समयदेखि स्थानीय उत्पादनमा नलागे पनि आयातित लसुनमा भ्याट लागेको छ। त्यसैगरी आलु-प्याजमा पनि आन्तरिकलाई लाग्दैन आयातितलाई लाग्छ। भ्याट नै लाग्दैन भनेपछि कार्यविधि नबनेको कारण कुनै समस्या भएको छैन। यहाँ बुझाइमा मात्रै समस्या भएको हो।
आन्तरिक राजस्व कार्यालयका प्रमुख यम पाण्डे भन्छन्ः
हामीले दसैं–तिहारको बीचमा अनुगमन गरेको सत्य हो। अनुगमन गर्न जाँदा धेरै व्यापारीहरू नै भेटिनु भएन।
उहाँहरू कारबाहीमा परिन्छ भनेर भाग्नु भएको रहेछ। हामीले भ्याटको कुरा होइन, प्यानमा दर्ता हुने भए प्यानमा, भ्याटमा भए भ्याटमा दर्ता हुनुपर्छ भनेका हौं। कुनै पनि कारोबार गर्दा दर्ता हुनुपर्ने हो। अनि बिलबिजक जारी नगरी कारोबार गर्नु भएको रहेछ हामीले यसो नगर्नुस् भनेका हौं।
भ्याटको विषय नै होइन। व्यवसाय दर्ता गर्ने वा नगर्ने बिल काटेर बेच्ने वा नबेच्ने भन्ने समस्या हो। २० गते मात्रै हामीले व्यवसायीलाई बेचेका थियौं। भ्याटको कुरा होइन भनेपछि उहाँहरूले ठीक छ कारोबार गर्छाैं भन्नुभएको थियो। तर अहिले फेरि कारोबार बन्द गर्नु भएको रहेछ।