अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिको पहिलो समीक्षाको विषयमा चासो व्यक्त गरेका छन्।
बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीसहितका सञ्चालक समिति डाकेर उनले समीक्षा छिटो ल्याउन र अर्थतन्त्रको समस्या समाधान गर्ने गरी नीति खुकुलो बनाउन निर्देशन दिएको अर्थका अधिकारीहरूले बताएका छन्।
अहिले विषम परिस्थिति रहेको भन्दै नियामक निकाय लचिलो बन्न आवश्यक रहेको उनको भनाइ छ।
'अहिले राष्ट्र बैंकको नीतिको कारण कतिपय समस्या भएको भनिएको छ, शेयर बजार, घरजग्गा , समग्र ब्याजदर र अन्य कारोबारमा पनि यस विषयमा मन्त्रीले चासो राख्नु भएको छ,' मन्त्रालयका एक अधिकारीले भने, 'खुकुलो नीतिका साथ बजार चलायमान हुने वातावरण बनाउन अर्थमन्त्रीको निर्देशन छ।'
अर्थमन्त्रीको चासोसँगै नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ।
अर्थ मन्त्रालयको सचिव नभएका कारण मौद्रिक नीतिको समीक्षामा ढिलाइ भएको प्रतिक्रिया गभर्नर अधिकारीले दिएका थिए।
राष्ट्र बैंकले आजै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ।