राष्ट्र बैंकका अनुसार मंसिरमा आयात बढेको छ।
मंसिरको मासिक आयात एक खर्ब ३० अर्ब बराबरको हुने आँकलन राष्ट्र बैंकले गरेको हो।
'कात्तिक एउटै महिनामा दुई वटा चाडपर्व परेकोले आयात केही घटेको थियो,' राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले भने, 'मंसिरमा भने आयात फेरि बढेको छ, यो अहिले १ खर्ब २५ अर्ब हाराहारी हुने देखिएको छ, बढेमा एक खर्ब ३० अर्बसम्म पुग्छ होला।'
अर्थसमितिमा भएको छलफलमा श्रेष्ठले यस्तो जानकारी दिएका हुन्। उनले आयात बढेर अहिलेको अर्थतन्त्र केही चलायमन भइरहेको भए पनि आगामी दिनमा अर्थतन्त्रको बाटो सच्चिनु पर्ने बताएका छन्।
'अहिले एकल अंकको ब्याजदरको कुरा उठिरहन्छ, विगतमा पनि यो दरमा कर्जाको ब्याजदर नआएको होइन,' श्रेष्ठले थपे, 'तर, एकल अंकको ब्याजदरमा कर्जा आउँदा हाम्रो स्राेतले भ्याउँछ, यो दिगो हुन्छ भन्ने मुख्य कुरा हो।'
एकल अंकको ब्याजमा रकम प्राप्त हुँदा घरजग्गा, सेयर हुँदै आयातकै कर्जा जाने र मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक हुने गरेकोले पनि अर्थतन्त्रको कोर्स करेक्सन गर्नुपर्ने समय भएको उनले बताए।
संसदको बैठकमा धेरै सांसदले बैंकको निक्षेप र कर्जा लगानीको अनुपातमा हालसम्मकै ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। हाल बैंकहरूको कर्जा निक्षेप अनुपात ७ प्रतिशतले घटेर ८० प्रतिशत छ। कर्जा र निक्षेपबीचको अन्तर ९ खर्ब हाराहारी छ।
बैंकहरूसँग कर्जा योग्य लगानी रकम लगभग ६ खर्ब हाराहारी छ। तर, बैंकहरूमा अधिक तरलता भने मात्रै ५५ अर्ब बराबर रहेको समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गरिरहेकोले तरलता धेरै नरहेको भनाइ राष्ट्र बैंकको छ।
अहिले बैंकमा पुँजी पर्याप्तता रहेकै कारण सरकारले समेत सस्तो ब्याजदरमा ऋण पाइरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। सरकारको लागि राष्ट्र बैंकले मंगलबार जारी गरेको आठ वर्षे अवधिको सात अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्रमा मात्रै ६ प्रतिशत ब्याजमा लगानी भएको छ।