सांसद स्वर्णिम वाग्लेले एनसेलको सेयर बिक्रीबारे आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक सुदको जवाफ लिनुपर्ने बताएका छन्।
नेपालमा लगानीको वातावरण नभएको भनेर दिएको अभिव्यक्तिले नेपालको लगानीमा प्रभाव पार्ने समेत विषय उठाउँदै उनले जवाफ माग गर्नुपर्ने बताए।
'सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा आजियाटाले नेपालको वातावरण देखाएर धारे हात लगाएर गयो,' बुधबारको अर्थसमिति बैठकमा वाग्लेले भने, 'आजिआटाका सिइओ सुदलाई समेत पत्राचार गरेर जवाफको लागि झिकाउनु पर्छ।'
उनले एनसेलको कारोबारले विभिन्न क्षेत्रका व्यक्तिहरूले अनुचित लाभ उठाउँदै आएको आरोप समेत लगाए। '३० देखि ४० अर्ब कारोबार गर्ने कम्पनीले नेतादेखि पत्रकारलाई अनुचित लाभ दिने गरेको कुरा सार्वजनिक छ,' उनले भने।
वाग्लेले दूरसञ्चार ऐन र विदेशी लगानी हस्तान्तरण ऐन बाझिएकोले यसको समाधान हुनुपर्ने बताए।
दूरसञ्चार ऐनले ५ प्रतिशतभन्दा बढीको सेयर कारोबारको जानकारी दिनुपर्ने र विदेशी हस्तान्तरणले मुलुकबाहिरको कारोबार ३ महिनाभित्र जानकारी गराए हुने व्यवस्था छ।
आजियटाले ७५ अर्बभन्दा बढी दायित्व सबै सारेर गरिएको यो कारोबारमा वस्तविक कारोबार नै यही दायित्वको मूल्यमा भएको हुनसक्ने पनि बताए।