अर्थमन्त्री प्रकाशशरण महतले रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताएका छन्।
मंगलबार नवलपरासीमा रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्दै अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन्। सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशन गरी इनर्जी ड्रिंक्सको आयात बन्द गरेको थियो।
'रेडबुल अब नेपालमै उत्पादन सुरू भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ। आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजस्व पनि देशका लागि तीन गुणा बढ्छ,' मन्त्री महतले भने।
उनले विभिन्न कारणले नेपालको अर्थतन्त्र समस्यामा भए पनि अब सुधारोन्मुख रहेको प्रतिक्रिया दिएका छन्।
उनले अपेक्षित राजस्व वृद्धि नहुनु आफ्नो लागि चिन्ताको विषय भएको बताए। आर्थिक क्रियाकलाप विस्तार गर्नको लागि सरकारले पूर्वाधारमा लगानी बढाउने उनको भनाइ छ।
'राजस्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यति बढी खर्च गर्ने क्षमता हुन्छ। परिवारको आवश्यकता पूर्ति गर्न सक्छ। देश भनेको पनि परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो,' महतले भने, 'देशलाई पनि आम्दानी हुने स्रोत र आम्दानीको आवश्यकता छ। सरकारले जति धेरै आम्दानी गर्छ, त्यति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौं। यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ।'
उनले सरकार स्वयम् व्यवसाय गर्ने मनोविज्ञानबाट अघि बढ्न नहुने बताए।
कुनै पनि उद्योग निजी क्षेत्रले चलाउने गरी सरकारले नीतिगत सहजीकरण गर्ने प्रतिवद्धता उनले गरे।
'सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ। एउटैले आधिपत्य जमाएको छ भने त्यो सरकारले हेर्छ। यस्तो परिवेशमा धेरै लगानी आउँछ, लगानी आएपछि रोजगारी बढ्छ,' उनले भने।
रोजगारी बढ्दा आम्दानी बढ्ने, आम्दानी बढेपछि राज्यको राजस्व बढ्ने हुनाले पनि सरकार निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने उनको भनाइ छ।
'सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन। निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन,' उनले भने।