अर्थतन्त्रका बाह्य सूचक बलियो रहेको र आन्तरिक सूचक सुधारोन्मुख देखिएको सरकारी अधिकारीको निष्कर्ष छ।
तर अर्थतन्त्र मन्दीमा गएको भाष्यसहित माग र आपूर्तिको शृंखलामा समेत त्यसको असर देखिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चासो देखाएका छन्। अहिले निजी क्षेत्रले गरेको गुनासो प्रति उनले सहानुभूति देखाउँदै आएका छन्। सरकारको कामको विषयमा आफैं सन्तुष्ट हुन सकेका छैनन्। यस्तो प्रतिक्रिया उनले सार्वजनिक कार्यक्रममा समेत दिँदै आएका छन्।
अर्थतन्त्रमा देखिएका समस्याको समाधान खोज्न निजी क्षेत्र, राजनीतिक दल र विज्ञहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डले सोमबार आन्तरिक छलफल डाकेका थिए।
दिउँसो साढे ४ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक तीन घन्टा चल्यो। यो बैठकलाई मंगलबार निरन्तरता दिइने मुख्य सचिव बैकुन्ठ अर्यालले जानकारी गराए।
आर्थिक मुद्दामा विरलै यति लामो बैठक बस्ने गरेको छ। मंगलबारको बैठकमा भने निजी क्षेत्रलाई पनि सहभागी गराइएको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी गराए।
नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, धितोपत्र बोर्ड सहित, अर्थ, गृह, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री तथा सचिवको उपस्थितिमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सोमबार ब्रिफिङ लिएका छन्। मंगलबारको बैठकमा निजी क्षेत्रको धारणा लिएपछि आन्तरिक बैठक पुनः बस्ने सरकारको योजना छ।
समग्र अर्थतन्त्र थप चलायमान बनाउन थप के गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको सुझाव खोजिएको अर्थमन्त्री महतले बताए।
'आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना छ,' मन्त्री डा. महतले सोमबारको बैठकपछि भने।
रोजगारीका अवसर कसरी वृद्धि गर्ने, सहकारी र लघु वित्तको देखिएको समस्या कसरी हल गर्ने विषयमा छलफल गरिएको थियो। वित्तीय संस्थाबाट लिइएको ऋण तिर्न नपर्ने भन्दै अफवाह चलाइएको विषयमा पनि बैठकमा छलफल गरिएको बताइएको छ। तर ऋण तिर्न सहज वातावरण सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको धारणा खोजी गरिएको बैठकमा उपस्थित एक अधिकारीले जानकारी गराए।
ऋण तिर्न सहज कसरी बनाउन सकिन्छ, कति समय थप्न सकिन्छ र राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको अर्थमन्त्री महतले बताए।
बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने प्रतिबद्धता बैठकमा गरिएको छ।
अर्थतन्त्रको विषयमा चौतर्फी चासो राखिन थालेपछि अर्थमन्त्री प्रकाशशरण महतले सोमबार पार्टी र सरकारमा अर्थतन्त्रको अवस्थाबारे ब्रिफिङ गरेका छन्। पाटी पदाधिकारी बैठक र प्रधानमन्त्रीले राखेको आन्तरिक छलफल कार्यक्रममा उनले अर्थतन्त्रको अहिलेको अवस्थाको विषयमा जानकारी गराएका हुन्।
'समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रिँदै गरेको छ। विप्रेषण, पर्यटक आगमन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौं,' आफूले ब्रिफिङ गरेको विषय सुनाउँदै महतले भने।
उनले अर्थतन्त्रमा मनोवैज्ञानिक असर भने देखिएको बताएका छन्।
'कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ। तर जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पुँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ,' उनले भने।
प्रधानमन्त्रीले प्रचण्डले निजी क्षेत्र, विज्ञ तथा राजनीतिक दलहरूको सुझाव खोजेका छन्। उनले अर्थतन्त्र सुधारका लागि अनेक प्रयास गर्दा पनि परिणाम नदेखिएको प्रतिक्रिया दिँदै आएका छन्।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि 'बोल्ड डिसिजन' आवश्यक रहेको भन्दै छलफल अघि बढाएका हुन्।