कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याएको छ।
असार १ गते ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको अनुमानित बजेट कर्णाली प्रदेश सरकारले ल्याएको हो।
सरकारले बजेट ल्याउनुअघिको अभ्यासका क्रममा विभिन्न क्षेत्रबाट दबाब सिर्जना भएको खुलेको छ।
बजेट निर्माणका क्रममा आएको दबाब, प्रभावको बारेमा अहिले कर्णाली प्रदेशमा छुट्टै विषय बनेको छ।
यो विषय अहिले संसददेखि सरोकारवाला अरू निकायसम्म चर्चामा छ। कर्णाली प्रदेश योजना आयोगले एक जना करार कर्मचारीलाई समेत यो विषयमा संलग्न भएको भन्दै बर्खास्त गरिदिएको छ।
बजेट आएको पर्सिपल्ट कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा बजेट निर्माण गर्दा आफ्नो निजी सचिवालयमा प्रलोभन देखाएर दबाब सिर्जना गरेको खुलासा गरेका थिए।
उनले आफूमाथि प्रत्यक्ष रूपमा दबाब नआएर सचिवालयका कर्मचारीहरूलाई आएको बताएका थिए।
त्यसक्रममा उनले कर्णाली प्रदेश योजना आयोगका कर्मचारीलाई प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गरेका थिए। कर्णाली प्रदेश योजना आयोगले मन्त्रालयबाट आएको प्रमाणका आधारमा भन्दै मंगलबार त्यसमा संलग्न कर्मचारीलाई हटाइदिएको हो।
यसरी बाहिरिएको थियो विषय
आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आइतबार एक पत्रकार सम्मेलन गरे।
बजेटको बारेमा संसदबाटै धेरैले थाहा पाइसकेको भए पनि मन्त्रालयको सम्मेलन गर्ने परम्परा अनुसार उनले पर्सिपल्ट पत्रकार सम्मेलनको आयोजना गरेका थिए।
उनले सम्मेलनका क्रममा बजेटको प्रकृति, सारांश, आकार लगायतका समग्र विषयमा बोलिसकेपछि दबाब, प्रभावका बारेमा पनि खुले।
त्यसक्रममा उनले भने, ‘बजेट निर्माणको क्रममा दबाब सिर्जना गर्ने काम त मसँग प्रत्यक्ष रूपमा भएन, मेरो सचिवालयमा यस्ता कुरा आएका छन्। जसले हिजो परम्परावादी हिसाबले त्यही काम गर्नुभएको रहेछ, उहाँहरूले सचिवालयका साथीहरूसँग कोसिस गर्नुभएको कुरा प्रमाणका आधारमा हामीले सुरक्षित राखेका छौं। भोलि सार्वजनिक गर्नुपरेमा गर्नेछौं।’
पत्रकारहरूले खुलाउन सकिने भए खुलाउन आग्रह गरेपछि मन्त्री सिंहले प्रदेश योजना आयोगलाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।
‘प्रदेश योजना आयोगमा कार्यरत केही साथीले दबाब सिर्जना गर्नुभएको रहेछ, उहाँले सचिवालयका साथीहरूसँग गरेको वार्तालाप हामीले सुरक्षित राखेका छौं, मैले उपाध्यक्षलाई पनि भनेको छु,’ उनले सम्मेलनमा भने, ‘पैसाको अफर उहाँबाट आएको छ, तपाईंले योजना हाल्दिनुस्, यतिको चेक ल्याउँछु, यति क्यास ल्याउँछु भनेर भन्नुभएको रहेछ।’
उनले थप भने, ‘योजना आयोगलाई मैले प्रतिनिधि पात्रका रूपमा मात्र भनेँ, यस्ता काम थुप्रै व्यक्ति र क्षेत्रबाट भएका छन्। त्यो खालको प्रवृत्ति मेरो पालामा मेरो मन्त्रालयमा देखापरेको रहेछ भने मैले जानकारी पाएसम्म एक्सनमा जान तयार छु।’
मन्त्रीले सम्मेलनमा त्यति बोलेपछि मंगलबार योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पनि पत्रकार सम्मेलन गरे।
उनले सम्मेलनका क्रममा कर्मचारीलाई कारबाही गरेको बताए।
यसअघि मन्त्रीको सचिवालयबाट गएको प्रमाण र सञ्चार माध्यममा आएका समाचारका आधारमा कर्मचारीलाई आवश्यक कारबाही गरेको उनले बताए।
‘अर्थमन्त्री र सम्बन्धित निकायले हामीलाई एक खालको सूचना दिइसकेपछि हामीले सम्बन्धित व्यक्तिलाई कारबाही गरिसकेका छौं, अहिले सबै कुरा नखुलाऔं, भोलि प्रसंगवस छानबिन गर्नुपरे ती कुरा सबै भनौंला,’ उपाध्यक्ष शाहीले भने, ‘हामी योजना आयोगको तर्फबाट सुशासनमा प्रतिबद्ध छौं, कोही पनि पदाधिकारी होस् वा कर्मचारी होस्, त्यस्तो कार्यमा संलग्न भएको पाइएमा हामी शून्य सहनशिलतामा ख्याल गरी अगाडि बढ्छौं।’
उनले आफूलाई आएका सूचनामध्ये ती करारमा रहेका कर्मचारीले मन्त्रीको सचिवालयलाई गरेका दुइटा कुरा खुलाए।
शाहीका अनुसार ती प्राविधिक धारका कर्मचारीले सचिवालयका कर्मचारीलाई सुरूमा योजना हालेपछि कमिसन दिने भनेका थिए।
उनले भनेका योजना मन्त्रालयले नहालेपछि मन्त्रीलाई इंगित गरेर ‘कति दिन मन्त्री हुन्छन् हेरौंला’ समेत भनेका थिए।
‘एउटा कुरा अलिअलि पैसाको लेनदेनको कुरा भएको छ, योजनाको पनि कुरा छ,’ मन्त्रालयबाट गएको वार्तालाप हेरेका उपाध्यक्ष शाहीले भने, ‘दोस्रो कुरा आफूले भनेको जस्तो नभएपछि मन्त्री ज्यूलाई देखौंला तपाईंलाई, कतिसम्म मन्त्री बन्नुहुन्छ भन्ने खालको कुरा भएको छ।’
मन्त्रालयको सचिवालयबाट प्राप्त सूचनामा सचिवालयका व्यक्तिको पहिचान गर्न नसकिए पनि आफ्ना ती कर्मचारीको पहिचान सजिलै गरेको उनले बताए।
आवश्यक परे मन्त्रालयले पूरा सूचना दिने उनले बताए।
‘हामीले ती कर्मचारीलाई कारबाही नै गरेर हटाइसकेपछि अब अर्को एक्सनमा जाने खालेका अवस्था नआउला,’ शाहीले भने।
उनले भ्रष्टाचार, बिचौलियाको समस्या सबै क्षेत्रमा भएकाले आफू त्यसलाई निरूपण गर्नेमा प्रतिबद्ध भएको बताए।
आर्थिक मामिला तथा योजना मन्त्री सिंहको निजी सचिवालयका अनुसार योजना आयोगको पाँचौं तह करारमा कार्यरत ती कर्मचारीले फेसबुक मेसेन्जर र मोबाइलको म्यासेज प्रणालीमार्फत योजना हाल्न बार्गेनिङ र धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए।