उद्योगी व्यवसायीले नेपाली उद्योगको उत्पादन लागत महँगो हुँदा प्रतिस्पर्धामा समस्या भएको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले महँगो उत्पादन लागतको कारण नेपाली उद्योगलाई प्रतिस्पर्धामा समस्या परेको बताइन्।
'यहाँ उत्पादन लागत महँगो छ, यसकारण नेपाली उत्पादनले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन' उनले भनिन् 'सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन् समस्यामा पर्दै जान थालेका छन्।'
देशको अर्थतन्त्रमा अहिले देखिएको समस्या अर्थ राजनीतिक रूपमा सम्बोधन गर्न ढिला भएको उनको भनाइ छ। 'राजनीतिज्ञले पनि अर्थतन्त्रबारे सोच्नुपर्छ। अर्थ राजनीतिक तवरले जान नसक्ने हो भने हाम्रा समस्या घट्न सक्दैनन्,' उनले भनिन्।
उनले तुलनात्मक लाभका वस्तु पहिचान गरेर बजारीकरणमा ध्यान दिनुपर्ने राणाले बताइन्। उत्पादनमूलक उद्योग र व्यापारका लागि फरक-फरक ब्याजदर निर्धारण गरिनुपर्ने उनको भनाइ छ।
नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले पनि नेपाली उत्पादन विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न नसकेका कारण धराशायी हुँदै जान थालेको गुनासो गरे।
महँगो ब्याजदर, महँगो कच्चा पदार्थ तथा ढुवानी लागतलगायत कारण नेपाली वस्तुको उत्पादन लागत बढी रहेको उनको भनाइ छ।