आगामी कात्तिक १७ मा हुने रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसले नयाँ शैली अपनाउने भएको छ।
विगतमा पार्टीको तल्लो तहबाट खुला सिफारिस माग्ने र त्यसलाई आधार मानेर माथिल्लो समितिले उम्मेदवार तोक्ने शैली छाडेर यसपटक फरक शैली अपनाइने कांग्रेस नेताहरूले जानकारी दिएका छन्।
‘पार्टीका दुई महामन्त्रीले 'आइडिया फोर'को शैलीमा उम्मेदवार चयन गर्ने तयारी गरिरहनुभएको छ,’ कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘तयारी चलिरहेको छ।’
महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देही ३ मा उम्मेदवार चयनका लागि ‘आइडिया फोर’ बारे अध्ययन भइरहेको सेतोपाटीसँग बताएका छन्।
‘हामी त्यही शैलीमा उम्मेदवार चयन गर्नेबारे अध्ययनकै क्रममा छौं,’ महामन्त्री शर्माले भने, ‘सम्भवतः यही शैली अपनाएर हामी उम्मेदवार चयन गर्नेछौं।’
महामन्त्री शर्माका अनुसार ‘आइडिया फोर’ अनुसार सबैभन्दा पहिले व्यक्तिको ‘सिसिपी’ हेरिनेछ।
‘कन्टिन्यूटी, कम्पिटेन्सी र पोसिबिलिटी’ अर्थात निरन्तरता, योग्यता र सम्भाव्यता हेरिनेछ,’ शर्माले भने, ‘तीन वटाकै बराबर गणितीय र मनोवैज्ञानिक समीक्षा गरिनेछ। यी तीन दृष्टिमा उपयुक्त को हुनसक्छ भन्ने निचोड निकालिनेछ।’
दोस्रोमा, 'इन्टिग्रिटी भेरिफिकेशन सिस्टम'को पनि अध्ययन गरिने कांग्रेसको भनाइ छ।
जस अनुसार कुनै आर्थिक अपचलनमा संलग्न रहेको/नरहेको, जातीय विभेदको कुनै कर्ममा विगतमा संलग्न रहेको/नरहेको, पारिवारिक सम्बन्धमा परम्परागत मर्यादा कायम रहेको/नरहेको, बालश्रम, घरेलु हिंसा आदिमा संलग्न रहेको/नरहेको तथा अन्य कुनै पनि सामाजिक विसंगतिको दुष्कर्ममा विगतमा संलग्न रहेको/नरहेको बारे अध्ययन गरिने महामन्त्री शर्माको भनाइ छ।
यसबाहेक उम्मेदवारबारे वृहत्तर समाज के भन्छ भन्ने विषयमा पनि ध्यान दिइने कांग्रेसको भनाइ छ।
‘यसमा उम्मेदवारको सामाजिक प्रभाव, समाजको प्रश्न, असन्तुष्टि र कांग्रेसलाई सुझावलाई ध्यान दिइनेछ,’ महामन्त्री शर्माले थपे, ‘रुपन्देही ३ मा समाजको विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, पार्टी बाहिरका मानिसको पनि धारणा अनौपचारिक शैलीमा संकलन गरिनेछ।’
सुरुमा उम्मेदवारहरूको सम्भावित ७ नाम तयार पारिनेछ। ती ७ नाममा क्षेत्र भित्रका ४, रुपन्देहीकै अरु २ र जिल्ला बाहिरको १ गरी उनीहरूमाथिको धारणा बुझ्ने काम हुनेछ।
योसँगै कांग्रेसले गरेका कामको सामाजिक प्रभाव केलाउने, कांग्रेसका बारे कतिपय भ्रम टिपोट गर्ने, कांग्रेसले परिवर्तन र परिमार्जन गर्नुपर्ने विषयहरू निश्चित गर्ने र चुनावमा समाजको विश्वास जित्न कांग्रेसले लिनुपर्ने रणनीति अध्ययन गर्ने काम पनि भइरहेको नेताहरूले बताएका छन्।
चौथो चरणमा पार्टी पंक्तिको रुझान कुन उम्मेदवारतर्फ बढी देखिन्छ भन्ने हेरिने महामन्त्री शर्माको भनाइ छ।
‘यो चरणमा कसलाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ, पार्टी सदस्य र शुभेच्छुकहरूको धारणा र सुझाव के छ भन्ने विषयमा अध्ययन गरिनेछ,’ शर्माले थपे, ‘पार्टीको विभिन्न तहको नेतृत्व एवं सदस्य, नेतृत्वका प्रतिस्पर्धी, पूर्व नेतृत्व, भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व एवं सदस्यसँग अनौपचारिक संवाद पनि गरिनेछ।’
यसका लागि विभिन्न चरणमा रुपन्देहीमा अध्ययन गरिएको जानकारी महामन्त्री शर्माले दिए। ‘साउन प्रथम साता रुपन्देही पुगेर म आफैंले केही काम गरेको छु,’ उनले भने ‘त्यसपछि पनि विभिन्न टिम त्यहाँ पुगेर काम गरिरहेको छ।’
कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार चयन गर्न ०८४ को निर्वाचनमा ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गर्ने उनले जानकारी दिए। कांग्रेसको गोदावरी महासमिति बैठकमा महामन्त्री शर्माले पेश गरेको दस्तावेजमा यो विषय उल्लेख छ।