नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दिवंगत नेताका नाममा खोलेका प्रतिष्ठान र फाउन्डेसन प्रयोग गरेर पार्टीमा गुटबन्दी गर्ने कोसिस भइरहेको बताएका छन्।
शुक्रबारबाट सुरू दोस्रो विधान महाधिवेशनमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले यस्ता कुराप्रति सम्बन्धित प्रतिष्ठान र फाउन्डेसनहरूको ध्यान पुग्न नसकेको बताएका हुन्।
'कतिपय जिल्लामा विभिन्न प्रतिष्ठान र फाउन्डेसन प्रयोग गरेर गुटबन्दीपूर्ण गतिविधि गर्न खोजेको देखिन्छ। यस्ता कुराप्रति सम्बन्धित प्रतिष्ठान र फाउन्डेसनहरूको ध्यान पुग्न सकेको देखिँदैन,' महासचिव पोखरेलले भनेका छन्।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्ष्य गरेर यस्तो टिप्पणी गरेका हुन्।
एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन रोक लगाएपछि उनले मदन भण्डारी फाउन्डेसनमार्फत् गतिविधि गरिरहेकी छन्।
उनले काठमाडौंको थापागाउँस्थित काठमाडौंका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खडा गरेकी छन्। त्यसैबाट पार्टीगत गतिविधि गरिरहेकी छन्।
त्यस्तै, महासचिव पोखरेलले पछिल्लो समय पार्टीमा सहमतिका लागि नेतृत्वले भूमिका निर्वाह गर्दा हस्तक्षेपका रूपमा बुझ्ने र प्रतिस्पर्धापछि परिणाम सहज रूपमा स्वीकार गर्न तयार नहुने परिपाटी बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
'यस्तो अवस्था आन्तरिक लोकतन्त्रका लागि चुनौतीको विषय बन्न पुगेको छ। नेतृत्वमा पुग्न र पराजित भएको अवस्थामा त्यसलाई कायमै राख्न चाहने प्रवृत्ति देखिन थालेको छ। जित्ने पक्षले पनि प्रतिस्पर्धीलाई समेटेर अघि बढ्नेमा समस्या देखिने गरेको छ,' उनले पार्टीको समस्या औंल्याउँदै भनेका छन्।
महासचिव पोखरेलले पदाधिकारीमा प्रतिस्पर्धा गर्दा सदस्यमा समेत उम्मेदवार हुने केन्द्रको व्यवस्था प्रदेश र जिल्ला तहमा अभ्यास नगरिँदा सक्षम नेतृत्वको एउटा हिस्सा अधिवेशनपछि कामबाट बाहिरिने स्थिति उत्पन्न भएको बताएका छन्।
नेतृत्वमा हुने प्रतिस्पर्धाले नीति–निर्माणमा प्रतिकूल असर पुगेको महसुस गरी केन्द्रीय तहमा दुई महाधिवेशन (विधान महाधिवेशन र नेतृत्व महाधिवेशन) को मान्यता अघि सारिएको उनले बताएका छन्।
'प्रथम विधान महाधिवेशन नीति–निर्माणमै केन्द्रित रह्यो। दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आइपुग्दा पुनः नीति निर्माणको विषय ओझेलमा पर्ने गरी नेतृत्वको बहसलाई चर्चामा ल्याउने कोसिस भयो,' उनले भनेका छन्।
नवौं महाधिवेशनको समय अघि सारिएको दुई कार्यकाल र उमेर हदको विषयलाई जबज र पार्टी जीवनको लोकतान्त्रीकरणसँग जोडेर केपी ओलीलाई कमजोर बनाउन खोजिएको उनले टिप्पणी गरेका छन्।
'नवौं महाधिवेशनका समयमा अघि सारिएको दुई कार्यकाल र उमेर हदको विषयलाई जबज र पार्टी जीवनको लोकतान्त्रीकरणसँग जोडेर मुख्य नेतृत्वलाई कमजोर बनाउने गरी चर्चामा ल्याउने काम भयो। जनताको बहुदलीय जनवादले प्रतिस्पर्धा खुम्च्याउने गरी कार्यकाल र उमेर हदको कुरा गरेको छैन। जबजले त प्रतिस्पर्धा खुला नै राखेको छ,' उनले भनेका छन्, 'प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीति नै जबजको मूल पक्ष हो। त्यसलाई संकुचन गर्ने मान्यतालाई आवश्यक नठानेर नै हटाइएको हो।'
पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या पार्टी जीवनको लोकतान्त्रीकरणका कारण सिर्जना भएका समस्या हुन् भन्नु गलत हुने उनको भनाइ छ।
'लोकतान्त्रिक अभ्यासमा निकै संकुचित भएका राजनीतिक दलहरूमा हाम्रो पार्टीको भन्दा जटिल समस्या र अन्तरविरोध देखिन्छन्। पटक पटक फुट र विभाजनबाट गुज्रिएका देखिन्छन्। तसर्थ हामीले पार्टी जीवनमा उत्पन्न समस्यालाई लोकतान्त्रीकरणका कारण नै समस्या उत्पन्न भएको भनेर लोकतान्त्रिक अभ्यासलाई संकुचन गर्ने होइन, बरू त्यसमा आवश्यक सुधार गरेर अघि बढ्नुपर्छ। पार्टीमा बहुपद सिर्जना गर्नुको अर्थ बहुकेन्द्र बनाउने भन्ने होइन र हुन दिनु हुँदैन,' उनले भनेका छन्।