सरकारले दर्ता नभएर बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्नका लागि पत्र पठाएको थियो। तीमध्ये अहिलेसम्म दुई वटा एप मात्र सरकारको सम्पर्कमा आएको मन्त्रालयको सहसचिव एंव प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।
उनका अनुसार बन्द गर्ने निर्णय भइसकेपछि बिहीबार नै हाम्रो पात्रोले दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको थियो। त्यसैले उक्त एप निष्क्रिय हुनबाट बचेको छ। त्योसँगै आजमात्र एक्सले दर्ताको प्रक्रियाबारे बुझेको हो।
'२४ घन्टासम्म हाम्रो पात्रोको दर्ता प्रक्रियामा छ भने एक्सले प्रक्रियाबारे बुझेको छ,' उनले भने, 'त्योबाहेक अन्य कुनै पनि एप सञ्चालक सरकारको सम्पर्कमा आएका छैनन्।'
आजको कार्यालय समयअवधि सकिन लागिसक्यो। भोलि शनिबार बिदा हुन्छ भने आइतबार अन्य देशहरूमा बिदा हुने भएकाले दुई दिन कुनै पनि कम्पनी सम्पर्कमा आउने सम्भावना नदेखिएको ठाकुरले बताए।
उनले भने, 'अब सोमबारदेखि सम्पर्कमा आउँछन् कि भन्ने आश छ।'
भाइबर, वि-टक, टिकटक, निम्बज र पोपोलाइभ दर्ता भइसकेका छन्। त्यस्तै, टेलिग्राम र ग्लोबल डायरी बन्द निर्णय हुनुभन्दाअघि देखि नै दर्ता हुने प्रक्रियामा थिए। तीबाहेक अहिले कुनै पनि एप चलेका छैनन्।