लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई आग्रह गरेका छन्।
सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा भएको छलफलमा उनले स्वदेशी उत्पादनहरू प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरू बनाउनका लागि भूमिका खेल्न आग्रह गरेका हुन्।
मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए।
'कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरमा बनेको चाहिँ घोप्ट्याउनु पर्ने पर्ने स्थिति छ' मुख्यमन्त्री चौधरीले भने, 'यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ।'
मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए।
उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरू बढाउनु नै अहिलको आवश्यकता रहेको बताए। अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उनले बताए।
स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने उनको भनाइ छ।