प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू प्रधानमन्त्री कार्यकाल सकेर अर्कोलाई हस्तान्तरण गर्दैगर्दा ८ प्रतिशतसम्मको आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य राखेको बताएका छन्।
नवलपुरमा निर्मित माैलाकाली केबलकार उद्घाटन गर्दै उनले आफ्नो दोस्रो कार्यकाल जस्तो स्थिति अहिले रहेको भन्दै अप्ठ्यारोको बीच उच्चतम आर्थिक वृद्धिको लक्ष्य राखेको बताए।
`कठिन परिस्थितिमा म दोस्रो कार्यकालको अध्यक्ष बनेको थिएँ, भूकम्प, नाकाबन्दीबाट उत्पन्न कठिन परिस्थितिमा झन्डै ७ प्रतिशतको आर्थिक वृद्धि भएको थियो´उनले भने, `अहिले पनि मैले आफ्नो कार्यकाल सकेर अर्को साथीलाई हस्तान्तरण गर्दैगर्दा ८ प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने लक्ष्य राखेकाे छु,´ उनले भने।
सरकारको ध्यान उत्पादन वृद्धि र रोजगारी सृष्टिमा रहेको बताउँदै यी दुवै लक्ष्य हासिल गर्नको लागि निजी क्षेत्रले काम गर्नुपर्ने सरकारले वातावरण बनाउने बताए।
उनले आर्थिक क्षेत्र चलयमान बन्दै गरेको बताए।
माैलाकालिका केबलकार आइएमई समूहबाट प्रवर्द्धित केबलकार हो। ४ तारे होटलसहित तयार गरिएको पूर्वाधारमा २ अर्ब लगानी लागेको बताइएको छ। केबलकारमा आइएमई समूहको ५१ र स्थानीयको ४९ प्रतिशत सेयर छ।