कर्मचारीको मूल्यांकन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन्।
बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
उनले भने, 'कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरूले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ।'
यो आर्थिक वर्षकाे असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने अपेक्षा गरेको उनले बताए।
महतले थपे 'राजस्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन। तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु।'
'समग्रमा हामी पारदर्शीका साथ हामी काम गरौं, सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गरौं, नियम, कानुनमा उनीहरूले तिर्नुपर्ने कुरा छ भने उनीहरूले तिर्नुपर्छ।' महतले भने।
'हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं।’ कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउँछ, कामभन्दा बाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल¬माथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले गर्दैन।' महतले भने।
जिम्मेवारी बहन एउटै मात्र आधार रहेको र यही अनुरुप काम गर्न सम्पूर्ण कर्मचारीहरूलाई उनले अनुरोध गरे।