आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले विज्ञ समूह गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णयबाट आगामी वर्षको बजेट निर्माणको लागि विज्ञ समूह बनाएका हुन्।
विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अर्थविद् डा. पोषराज पाण्डे रहेका छन्।
विश्व पौडेललाई अर्थमन्त्रालयको प्रमुख सल्लाहकारको रुपमा समेत नियुक्त गरिएको अर्थमन्त्री महतको सचिवालयले जानकारी गराएको छ।
पौडेल मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन-१ बाट उम्मेदवार बनेका थिए।
अर्थमन्त्री महतले आगामी बजेटबाट केही नीतिगत सुधारका साथै बजेटलाई यथार्थपरक बनाउने प्रयास गर्ने बताएका छन्।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। यसअघि महतले सह सचिव भुपाल बरालको नेतृत्वमा बजेट लेखन समिति बनाएका छन्।