नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधि मण्डलले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी उक्त प्रस्ताव गरेको हो।
भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्चमूल्य वृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए।
तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ।
निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने अवस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले आगामी असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिन माग गरे।
बैंकको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो।
सो अवसरमा गभर्नर अधिकारीले निजी क्षेत्रका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिए। उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासंघका सुझाव समावेश गरिने जानकारी गराए।