नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावनालाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्।
बुधबार काठमाडौंमा भएको ऊर्जा सम्मेलनमा उनले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएको स्पष्ट पारेका हुन्।
अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरे।
'नेपालमा जलविद्युत लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ। सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने छ। हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरू छिमेकमै छन्। त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस्। निजी क्षेत्रको तर्फबाट हामी तपाईंलाई सहजीकरण र सहयोग गर्न तयार छौं,' उनले भने।
नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रूपैयाँ आर्जन गरेको बताउँदै उनले बंगलादेशको बजारका लागि पनि सरकारी तहबाट सकारात्मक कुराकानी भइरहेको बताए।
अध्यक्ष ढकालले नेपाल सरकार तथा अन्य सरोकारवालालाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरे।