सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने सहमति गरेका छन्।
बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताए।
उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ।
आफूहरुले सिमेन्ट उद्योगीहरू धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ।
‘सिमेन्ट उत्पादकहरूले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा दुवै पक्षबीच छलफल भएको छ। काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरूले प्रतिवद्धता जनाउनुभएको छ। काठमाडौंको भाडा भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ हुँदा सिमेन्टको मूल्य पाँच सय ४० रुपैयाँमा फ्याक्ट्रिमा हुने भएको छ। अहिले यसको मूल्य ६ सय ८० रुपैयाँ रहेको छ,’ उनले भने।
उनकाअनुसार सिमेटको मूल्य समायोजन गर्न बैठक गरिएको थियो।
‘सिमेन्ट व्यवसायीहरूले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ, त्यो स्वागतयोग्य छ,’ उनले भने।
सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरेका छन्।
सिमेन्टको मूल्य प्रतिबोरा ७८० रुपैयाँसम्म पुगेको थियो। (न्युज एजेन्सी नेपाल)
यो पनि: 'उद्योगले बिनाकारण सिमेन्टको भाउ बढाएर अभाव सिर्जना गरे'