गजामा इसराइली सेनाले नियन्त्रण कायम राखेको भूमिगत सूरूङमा एक महिनाभन्दा लामो समयदेखि हमासका लडाकू फसेको खुलेको छ।
युद्धविराम भएयता पहेँलो नियन्त्रण रेखा कायम गरी पूर्वमा इसराइली सेना र पश्चिममा हमासले आफ्नो नियन्त्रण कायम राखेका छन्। दुवै सेना एक अर्काको क्षेत्रमा प्रवेश गर्न पाउँदैनन्।
इसराइली सेनाले नियन्त्रण कायम राखेको पूर्वी भूभागको भूमिगत सुरूङमा २०० भन्दा बढी हमास लडाकू फसेको खुलेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
हमासको केन्द्रीय कमाण्डबाट सम्पर्कविच्छेद भएका यो समूह युद्धविराम सुरू हुनुपूर्व नै त्यस क्षेत्रमा आफ्नो गतिविधि चलाइरहेका थिए।
सुरूङबाहिर निस्किएको खण्डमा इसराइली सेनाबाट मारिन सक्ने खतरा छ।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नै यी लडाकुहरूलाई सुरुङबाट निस्केर हमास-नियन्त्रित क्षेत्रमा जान दिने मनशाय नरहेको स्पष्ट पारेको छ।
हमासले आफ्ना लडाकुहरूले कहिल्यै आत्मसमर्पण नगर्ने र हतियार नबुझाउन भनको सिएनएनले जनाएको छ।
तर खाना र पानीको पहुँच नभएका कारण ती लडाकूहरूलाई कि आत्मसमर्पण कि इसराइली सेनासँग लड्नुको विकल्प नरहेको भनेर सिएनएनले लेखेको छ।
यस्तो परिस्थितिलाई कसरी समाधान भन्ने विषय अहिले मध्यस्थकर्ताहरूको टाउको दुखाइ बनेको छ।
कतपय कुटनीतिज्ञहरूले यसैले युद्धविरामलाई समेत संकटमा पार्न सक्ने विश्लेषण गरेका छन्।
ट्रम्प प्रशासनले भने इसराइललाई यो समस्याको कुनै न कुनै समाधान निकाल्न दबाब दिइरहेको छ।
दुई इसराइली स्रोतहरूका अनुसार अमेरिकी दूत तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरले यसै साता नेतान्याहुसँगको भेटमा पनि यो मुद्दा उठाएका थिए।
त्यतिबेला उनले यी सबै परिस्थिती समाधान गरेर अमेरिका युद्धविरामको दोस्रो चरणमा जान चाहेको बताएका थिए।
युद्धविरामको दोस्रो चरणमा गजामा अन्तर्राष्ट्रिय सुरक्षा बलको स्थापना, हमासको निशस्त्रीकरण र इसराइली सेनाको थप फिर्ती जस्ता जटिल विषयहरू समावेश छन्।
तर सुरुङमा फसेका लडाकुहरू विषय सबैभन्दा कठिन बनेको छन्।
उनीहरूलाई तेस्रो देशमा निर्वासनमा पठाउने विषयमा कुरा भए पनि त्यो सफल हुन सकेको छैन।
कुनै समाधान ननिस्किँदा यी लडाकूहरू टाइम बमजस्तै बनेको भनेर सिएनएनले लेखेको छ।
हमासको केन्द्रीय कमाण्डबाट सम्पर्कविच्छेद भएका यिनै समूहहरूले हालै इसराइली सेनामाथि आक्रमण गरेको आशंका गरिएको छ।
अक्टोबर १९ मा राफाहमा दुई इसराइली सैनिक मारिएपछि इसराइलले गरेको जबाफी हमलामा कम्तीमा ४४ प्यालेस्टिनी मारिएका थिए। त्यसको एक हप्तापछि, अर्का एक इजरायली सैनिक मारिँदा इजरायली हमलामा दर्जनौं बालबालिकासहित १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको थियो।
इसराइली प्रधानमन्त्री नेतान्याहुमाथि आफ्नै देशको दक्षिणपन्थी खेमाबाट चर्को दबाब छ। उनीहरूले लडाकुहरूलाई हमास-नियन्त्रित क्षेत्रमा सुरक्षित जान दिन नहुने बताउँदै आएका छन्।
पूर्व रक्षामन्त्री एभिग्डोर लिबरम्यानले इसराइली सेनाको हत्या गर्नेसँग तीनवटा विकल्प रहेको बताए।
'युद्धविरामपछि हाम्रा सैनिकको हत्या गर्ने आतंककारीहरूसँग दुई मात्र विकल्प हुनुपर्छ: आत्मसमर्पण र जेल, वा मृत्यु
यही राजनीतिक दबाबका कारण नेतान्याहुलाई हमासको माग स्वीकार्न गाह्रो परेको छ।
आइडिएफले गत बुधबार मात्रै सुरूङम रहेको हमास लडाकुहरूसँग झडप भएको पुष्टि गरेको छ। आइडिएफले आफूहरू भूमिगत पूर्वाधार ध्वस्त पार्न जाँदा हमास लडाकू भेटिएको ती लडाकूले गोली चलाएको बताएको छ।
आइडिएफले भूमिगत संरचना ध्वस्तको काम युद्धविराम सम्झौताअनुसार नै भएको दाबी गरेको छ। युद्धविराम सम्झौताले नै इसराइललाई आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा सुरुङ र सैन्य पूर्वाधार नष्ट गर्न अनुमति दिने उसको दाबी। तर, हमासले यसलाई सम्झौताको ठाडो उल्लंघन भनेको छ।
हमासको सैन्य शाखा, अल कासम ब्रिगेड्सले आइतबार एक विज्ञप्ति जारी गर्दै आत्मसमर्पण वा घेराबन्दी भन्ने शब्द आफूहरूको शब्दकोषमा नभएको बताए।
'हामी मध्यस्थकर्ताहरूलाई उनीहरूको जिम्मेवारी सम्झाउन चाहन्छौं, र युद्धविराम जारी राख्न उनीहरूले नै समाधान खोज्नुपर्छ,' उनले भने।
हमास लडाकुहरूले हतियार बिसाएर शान्तिपूर्ण बाटोमा प्रतिबद्धता जनाए उनीहरूलाई आममाफी दिन सकिने भनेर युद्धविराम सम्झौतामा भनिएको छ।
विश्लेषकहरूले भने सुरूङमा फसेका लडाकूहरूको व्यवस्थापनको विषयले मात्रै युद्धविराममा खतरा पैदा नहुने तर मध्यस्थकर्ताहरुका लागि यो एउटा अवरोध हुन सक्ने बताएका छन्।