पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडरलाई प्रहरीले मुद्दा चलाउने तयारी थालेको छ। सोमबार बिहान १० बजे यूएन पार्कमा जम्मा भएका राइडरले दिउँसो करिब १ बजे मध्यबानेश्वरस्थित पठाओ कार्यालयअघि नाराबाजी गरेका थिए।
पहिला स्थिति सामान्य भएर वार्ताको वातावरण बने पनि पछि एकाएक राइडरहरूले ढुंगा र इँट्टाले कार्यालयमा तोडफोड गरेका हुन्। तोडफोडबाट कार्यालयका प्रायः सबै झ्यालका सिसा फुटेको छ। भित्र कति क्षति भयो, यकिन नभएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए।
हुलदंगामा सहभागी सबै राइडरलाई सिसीटिभी क्यामरामार्फत खोजी गरी प्रहरीलाई जानकारी दिइने उनले बताए।
'हामी सिसी टिभी क्यामराको मार्फत सबै राइडरलाई पहिचान गर्छौं र उनीहरूलाई पठाओबाट सधैंका लागि सस्पेन्ड गर्छौं,' उनले सेतोपाटीसँग भने।
प्रशासनलाई आन्दोलनबारे पहिल्यै जानकारी गराए पनि प्रहरीले गम्भीर रूपमा नलिइदिएकाले घटना ठूलो बनेको उनले बताए।
'मैले हिजो नै राइडरहरूले ग्रुपमा लेखेको कमेन्टको स्क्रिन सटसहित सिडिओ कार्यालय र प्रहरी परिसरमा सुरक्षाका लागि आग्रह गरेको थिएँ। तर सुरूमा प्रहरी संख्या थोरै भएकाले यो घटना भयो,' उनले भने।
आन्दोलनरत राइडरहरूले गत सोमबार पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए।
मागपत्रमा राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड सेयरिङ बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायत माग राखेका थिए।
उक्त माग एक हप्ताभित्र पूरा गर्न राइडरहरूले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए।
गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएको भन्दै सामूहिक रूपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुढा र तोडफोड गरेका हुन्।
पठाओले भने आज बिहान १० बजे आफ्नो तर्फबाट स्पष्टीकरण दिएको थियो।