टेम्पो चालक कृष्णमाया ब्लोनलाई हामीले बिहीबार बिहानै फोन सम्पर्क गर्यौं।
फोन उठ्नुअघि कलर ट्युनमा एउटा गीत बज्यो-
रोए पनि बित्छ जीवन, हाँसे पनि बित्छ
खुसी–खुसी जल्ले बाँच्छ, तेल्ले संसार जित्छ
गायक प्रकाश सपुतको स्वरमा रहेको यो गीत अहिले उनलाई ठ्याक्कै मिल्दो भएको छ। कृष्णमाया मात्र होइन, यातयात मजदुरहरूको समान समस्या र समस्या जित्ने आकांक्षा हो यो।
बिहीबारबाट निषेधाज्ञा खुकुलो भयो। सार्वजनिक सवारी जोरविजोर मापदण्डमा चल्न थाले। तर माइक्रो र टेम्पो चल्न नपाउने भएपछि विष्णुमायाका हातखुट्टा झनै गलेका छन्।
'खोलेपछि त हाम्रो टेम्पो पनि चलाउन दिनु पर्ने हो नि, हामीले चाहिँ भात खानै नपर्ने हो र? कसैलाई काखा, कसैलाई पाखा गरेजस्तो भएन र,' विष्णुमायाले भनिन्।
लकडाउनअघि कृष्णमायाको जीवन सामान्य थियो। गल्फुटार बस्ने उनी बिहानै सार्वजनिक गाडी चढेर चाबहिल आउँथिन्। त्यहाँबाट सिफलस्थित टेम्पो चार्ज गर्ने स्टेसन पुग्थिन्।
त्यसपछि दिनभरी अनामनगर-सुन्धारा रूटमा टेम्पो चलाउनु उनको दैनिकी थियो। उनका श्रीमान पनि निजी गाडी चलाउँथे। सासू–सुसुरा, जेठाजु –जेठानी र बच्चाहरू सहितको उनको ठूलो परिवारमा त्यति ठूलो समस्या केही थिएन।
दुई जना दिनरात खटिएर आफ्नी ६ वर्षीया छोरीलाई ठूलो मान्छे बनाउने पनि सपना देखिरहेका थिए। कोरोना, लकडाउन र निषेधाज्ञाले उनीहरू दुवैलाई बेरोजगार बनायो।
कोठा भाडा पनि ३ महिनाको तिर्नै बाँकी रहेछ। रासन उधारोमै किनेकी छन्। मजदुर संगठनले थोरै राहत दिए पनि कुनै सरकारी निकायबाट राहत नपाएको उनले सुनाइन्।
'२४ गतेपछि गाडी खुल्छ भन्ने सुनेकी थिएँ। खुल्न त खुलेछ तर टेम्पो चलाउन नपाउनेगरी,' उनले दुखेसो पोखिन्, 'पैसा सकिएर ऋण लागि सक्यो। चलाउन पाए त भोलिबाटै जान्थेँ।'
उता, निलो माइक्रो व्यवसायी ५१ वर्षीय कृष्णप्रसाद घिमिरेको समस्या उस्तै छ।
विगत दस वर्षदेखि कलंकी–रत्नपार्क रूटमा माइक्रो गुडाएर परिवार धानेका थिए। तीन वर्षयता छोराले नै त्यो माइक्रो चलाउन थालेपछि चालक राख्नु परेन। उनलाई झनै राहत भएको थियो।
त्यही माइक्रोको कमाइले घर खर्च, कोठा भाडा, स्नातकोत्तर पढ्दै गरेकी छोरीको पढाई खर्च लगायत सबै धानिएको थियो। माइक्रो चलाउन नपाएपछि उनको परिवारको कमाइ ठप्पै छ।
'छोराले जम्मा गरेको अलिअलि पैसा सुरूको १-२ महिनामै सकियो। कोठा भाडा नतिरेको महिनौं भयो। रासन पनि ओल्लोपल्लो पसलबाट उधारो नै ल्याइरहेका छौं,' कृष्णप्रसादले भने।
अरू गाडी चल्न दिएर सानो माइक्रो चल्न नदिएकोमा उनलाई पनि गुनासो छ।
भन्छन्, 'सानो ट्याक्सी चल्न दिने अनि हाम्रो गाडी किन नदिने? सरकारले हामीलाई किन भेदभाव गरेको? हामीले परिवार पल्नु पर्दैन? पेट भर्नु पर्दैन?'
कृष्णमाया र कृष्णप्रसाद जस्ता धेरै चालक छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईका अनुसार हाल उपत्यकामा निलो माइक्रो करिब २ सय ८० र ७ सय १४ वटा टेम्पो छन्। टेम्पोमा करिब ५० प्रतिशत महिला मजदुर छन्।
१४ सिट कमका गाडी चलाउन नदिएपछि करिब एक हजार बढी गाडीका १५ सय हाराहारी मजदुर रोजगारीमा फर्किन नपाएको उनले बताए।
'सरकारको यो निणर्यले थोरै कमाएर गुजारा यातायात मजदुर मारमा परेका छन्,' राईले भने, 'टेम्पो चलाउ धेरैजसो एकल महिला हुनुहुन्छ। बालबच्चा, परिवार पाल्ने जिम्मा उहाँहरूकै काँधमा छ। साना गाडी चलाउन नदिएर सरकारले खाडी पठाउन खोजेको हो?'
सरकारको यो निर्णय अव्यवहारिक भएकाले पुनर्विचार गर्नुको विकल्प नभएको राईको तर्क छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौला पनि सरोकारवालाई नबोलाई, मुख्य समस्या नबुझी सरकारले निर्णय गरेको आरोप लगाउँछन्।
'बैंकको ब्याज बढेको बढ्यै छ, थन्काएर राखेको गाडीको बीमा पैसा तिर्नु परेको छ,' उनले भने।
टेम्पो र माइक्रोमा पनि स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न सकिने उनको तर्क छ।