दाङका प्रमुख तीन सहरहरु मध्य घोराहीमा मात्रै दुग्धजन्य पदार्थको मूल्य वृद्धि गर्ने निर्णय भएको छ। तुलसीपुर र लमहीमा भने तत्काल मूल्य बृद्धि गर्ने वा नगर्ने भन्ने बारे कुनै निश्चित भइसकेको छैन।
जिल्लाको सदरकमुकाम घोराही क्षेत्रका डेरी व्यवसायीको शनिबारको भेलाले भदौ ११ गतेदेखि दुग्धजन्य पदार्थमा भारी मात्रामा मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। व्यवसायीको भेलाले एक लिटर दूधमा १० रुपैयाँ, दहीमा २० रुपैयाँ, एक किलो पनिरमा ५० रुपैयाँ, मख्खनमा १०० रुपैयाँ र घिउमा प्रतिकेजी २०० रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ।
डेरी व्यवसायी संघ घोराहीका अध्यक्ष इश्वरी घिमिरेले दूधको मूल्य ७० रहेकोमा बढाएर ८० पु¥याइएको, दही प्रतिलिटर ८० बाट १००, पनिर किलोको ६५० बाट ७००, मख्खन ८०० सयबाट ९००, घिउ किलोको १००० बाट १२०० बढाउने निर्णय भएको जानकारी दिए।
त्यस्तै स्पेसल लसी एक गिलासको ५० रुपैयाँ, सादाको ४० रुपैयाँ, कफीको ३५ र दूधको चियाको २० रुपैयाँ बनाउने निर्णय भएको घिमिरेले बताए।
एक लिटर दूधमा दश रुपैयाँ बृद्धि गर्दा किसानले भने ५ रुपैयाँ मात्रै बढी पाउने भएका छन्। किसानलाई हालसम्म प्रतिलिटर दूधको मुल्य ५५ रुपैयाँ रहेकोमा अब ६० रुपैयाँ पुर्याउने निर्णय भएको छ।
घोराहीमा देउखुरी क्षेत्रको राप्ती गाउँपालिका वाटपनि दूध आउने गर्छ । ढुवानी कर्तामध्ये अब तुलसीपुरको विजौरी र दुधरासमा मात्रै दर्ता भएका सहकारी छन्। अरु सबै व्यक्ति विशेषले ढुवानी गर्दै आएका छन् । त्यसैगरी चिस्यान केन्द्र भएका संकलनकर्तालाई बढी प्राथमिकता दिने निर्णय भएको पनि घिमिरेले बताए।
विगत २ वर्षदेखि घोराही क्षेत्रमा दूधको मुल्य वृद्धि नभएको हुँदा अन्य सामाग्रीमा भएको बृद्धिलाई मध्यनजर गर्दै मूल्य समायोजन गर्नु परेको डेरी व्यवसायी संघ घोराहीका अध्यक्ष घिमिरेले बताए । घोराहीमा मात्र दैनिक २ हजार ५ सय लिटर दुध आउने गरेको छ ।
तुलसीपुर र लमहीमा पुरानै मूल्य
तुलसीपुरमा डेरी संघ गठन भइसकेको छैन। तर लमहीमा भने एक वर्ष अगाडि संघ गठन गरिएको छ। तुलसीपुरमा विगत १८ वर्षदेखि डेरी सञ्चालन गर्दै आएका साका सौरभ डेरी उद्योगका सञ्चालक साकार खड्काले तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ४ महिना अगाडि मात्रै मुल्य बृद्धि भएको बताए।
‘हामीले गत वैशाखमा मात्रै दुग्ध जन्य पदार्थको मूल्य बृद्धि गरेका हौं , त्यसैले फेरि मूल्य वृद्धि गर्ने पक्षमा छैनौं,’ खड्काले भने। वैशाख भन्दा अगाडि सम्म तुलसीपुर क्षेत्रमा प्रतिलिटर दूधको मूल्य ६० थियो। बैशाख महिनादेखि त्यसमा १० रुपैयाँ बढाएर ७० पु¥याइएको छ । दही लिटरको ७० बाट ८०, घिउ किलोको ९०० बाट १००० र पनिर ६०० बाट ७०० पु¥याइएको छ । तुलसीपुर क्षेत्रमा ३६ वटा डेरी उद्योगहरु सञ्चालनमा छन्।
लमही नगरपालिका क्षेत्रमा पनि तत्काल दूधको मुल्य बढ्ने संभावना न्यून रहेको व्यवसायीहरुले बताएका छन् । लमही डेरी व्यवसायी संघका अध्यक्ष खेमराज घिमिरेले दुग्ध जन्य पदार्थको मुल्य बृद्धि गर्ने कि नगर्ने भन्ने बारेमा कुनै निर्णय भइ नसकेको बताए। लमहीमा पनि तुलसीपुरमा जस्तै दूध, दही र घिउको मूल्य समान रहेको छ। प्रतिलिटर दूधको मूल्य हाल ७०, दही लिटरको ८०, घिउ प्रतिकिलो १००० र पनिर ६५० रुपैयाँमा कारोबार भइरहेको छ। परिनरको मूल्य लमहीमा तुलसीपुरको भन्दा ५० रुपैयाँ सस्तो छ।
लमही डेरी संघका अध्यक्ष घिमिरेले जिल्ला भर एउटै मूल्य निर्धारण गरिनुपर्ने बताए । एउटै जिल्लामा फरक÷फकर मुल्य निर्धारण गर्दा म्यासेज राम्रो नजाने उनको धारणा छ। ‘घोराहीले मात्रै एकलौटी रुपमा बढाएर भएन,’ घिमिरेले प्रश्न गरे ‘ हामीलाई पनि सोध्नु पर्छ कि पर्दैन?’ अब आफूहरुले पनि एक दुई दिन भित्र बैठक डाकेर के गर्ने भन्ने निधो गर्ने उनले बताए।
तुलसीपुर घोराही भन्दा २४ किलोमिटर पूर्वमा पर्छ र लमही ठिक त्यही दुरीमा पूर्व दक्षिणमा अवस्थित छ ।
दाङको देउखुरी क्षेत्रमा तुलसीपुर र घोराही भन्दा झन्डै दोब्बर दूध उत्पादन हुने गरेको छ । प्रसस्त वन जंगल र चरण क्षेत्र भएको हुँदा यसक्षेत्रमा धेरैले पशु पालनलाई मुख्य व्यवसायको रुपमा अंगाल्दै आएका छन्।
दाङमा दैनिक कति दूध उत्पादन हुन्छ र कति खपत हुन्छ भन्ने एकिन तथ्याङ भने छैन् । व्यवसायीको अनुमानमा जिल्लामा दैनिक झन्डै २५ हजार लिटर सम्म दुध खपत हुने गरेको छ । उत्पादन भने झन्डै ३० हजार लिटर सम्म हुने अनुमान गरिएको छ।
जिल्लाको भालुवाङ, तुलसीपुर, नारायणपुर, घोराही, लमही, अमेलिया,गढवा, भालुवाङ गरी ८ वटा बजारहरु रहेका छन्। अन्य समयमा स्थानीय उत्पादनले पुग्ने भएपनि चाड पर्वमा भने अपुग हुने गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा ४५ वटा डेरी दर्ता छन् । जस्मा ३ करोड ७७ लाख जति लगानी छ । जिल्लामा डेरी उद्योग बर्षेनी थपिदै गएका छन्। पछिल्ला केही वर्ष यता दूधको लागि व्यवसायिक गाई तथा भैंसी पालन गर्ने किसानको संख्या पनि थपिँदै गएको छ।
दाङमा डेरी उद्योगको तथ्याङ्क
बबई गाउँपालिका- उद्योग संख्या २, लगानी रकम ६ लाख
तुलसीपुर उपमहानगरपालिका- उद्योग संख्या १०, लगानी रकम १ करोड १० लाख ६९ हजार ६१०
घोराही उपमहानगरपालिका- उद्योग संख्या १९, लगानी रकम १ करोड ४६ लाख ९१ हजार
लमही नगरपालिका- उद्योग संख्या ८, लगानी रकम ५ करोड २५ लाख ३३ हजार ४००
गढवा गाउँपालिका- उद्योग संख्या ४, लगानी रकम २८ लाख
राप्ती गाउँपालिका- उद्योग संख्या २, लगानी रकम ३३ लाख
जम्मा उद्योग संख्या ४५, लगानी रकम ३ करोड ७७ लाख १४ हजार १०
स्रोत: घरेलु तथा साना उद्योग कार्यालय दाङ ।