राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवार नभएको कीर्तिपुर नगरपालिकासहित उपनिर्वाचन हुन लागेका ठाउँमा कसलाई समर्थन गर्छ भन्ने चासो छ।
रास्वपाले आफ्नो पार्टीबाट उम्मेदवारी नपरेका ठाउँमा व्यक्ति तोकेर समर्थन गर्ने स्थिति देखा परेको छैन।
रास्वपा बागमती प्रदेश समितिले आफ्ना उम्मेदवार नभएका ठाउँमा स्वतन्त्र, राष्ट्रप्रेमी लागेका उम्मेदवारलाई मत हाल्न निर्देशन दिएको छ।
‘मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नभएका स्थानहरूमा कुनै पनि दलगत स्वार्थबाटमाथि उठी ‘समर्थन घण्टीलाई, समर्पण राष्ट्रलाई’ भन्ने उक्तिलाई मनन गरी आफ्नो क्षेत्रमा उठ्नुभएका राष्ट्रप्रेमी, स्वतन्त्र बुद्धिजीवी जसले देश र जनताको मर्म र भावना अनुरुप यो देश बनाउन भूमिका खेलेका छन् र खेल्न सक्नेछन् भन्ने विश्वासी उम्मेदवाहरूलाई साथ र सहयोग गर्ने पार्टीको विधि विधानमै निर्दिष्ट भएकोले सोही अनुरूप सहयोग गरी मतदान गर्नुहुन हार्दिक अपिल गर्दछौं,’ प्रदेश सभापति अच्युतम लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बागमतीमा रास्वपाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रोजिना श्रेष्ठ, ककनी गाउँपालिका वडा नम्बर २ मा मंगलसिद्धिलामा तामाङ, हेटौंडा उमहानगरपालिका वडा नम्बर १२ मा आशावीर बललाई उम्मेदवार बनाएको छ।
कीर्तिपुर नगरपालिकाको प्रमुखसहित दुई वटा वडामा रास्वपाले उम्मेदवारी दिएको छैन। त्यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्ने रास्वपाका नेताहरूले बताइरहेका छन्। तर रास्वपा बागमतीले भने स्वतन्त्रमध्ये कसलाई पार्टीले समर्थन गर्ने हो नाम तोकेको छैन। कीर्तिपुरमा १९ उम्मेदवारमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन्।
केन्द्रीय परिषद्को राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेको प्रतिवेदनले नै धेरै कुरा निर्दिष्ट गरेको रास्वपाका नेताहरूको भनाइ छ।
पार्टी सभापतिको प्रतिवेदनमा ‘प्राइमरी इलेक्सन’बाट योग्य उम्मेदवार छान्ने, आफूले उम्मेदवार छान्न नसकेका ठाउँमा गैरदलीय उम्मेदवारलाई समर्थन गर्ने वा स्वतन्त्र उम्मेदवारलाई घन्टी चुनाव चिह्न दिनसकिने विकल्प अघि सारिएको थियो।
कीर्तिपुरमा पार्टी केन्द्रले ‘यसैलाई मत हाल्नु’ भनेर व्यक्ति नतोकेको स्वतन्त्र, बुद्धिजीवीलाई समर्थन गर्न भनिएको त्यहाँका पार्टी सदस्यले बताए।
‘पार्टीले व्यक्ति तोकेर निर्देशन नदिएकाले यहाँ मत छिरलिने सम्भावना छ। कार्यकर्ताले आफै उम्मेदवार छान्दा कुनै पार्टीलाई पनि जानसक्छ,’ ती नेताले भने।
मंसिर १६ गते ३३ जिल्लाका स्थानीय तहका ४४ विभिन्न पदमा उपनिर्वाचन हुँदैछ।