स्थानीय वनमा पाइने ‘सेरेना’ जातको मौरीको झुण्ड एक दिन डाँसबहादुर डाँगीको घर नजिकै जिङ्गटको रुखमा आइबस्यो। डाँगीले ती मौरीका लागि काठको घार बनाइदिए।
एक घार मौरी बढेर वर्षभरमा ५ घार भए। ती मौरीबाट निस्किएको मह सुरुमा परिवारले नै खान्थे। उत्पादन बढ्दै गएपछि बेच्न पनि थाले। सित्तैमा आइबसेको मौरीबाट कमाइ हुन थालेपछि डाँसबहादुरले मौरी व्यवसायिक रुपमै पाल्ने सोच बनाए। मौरीका लागि छुट्टै टहरा बनाइदिए।
आसपासका जंगलमा रुखका टोड्काहरुमा मौरी प्रशस्तै पाइन्थ्यो। उनले मौरी खोज्दै ल्याउन थाले। जंगलमा मौरीको घार देखाइदिने वा ल्याइदिने व्यक्तिलाई प्रतिघार ५/७ सय रुपैयाँ दिन थाले। घार बढ्दै गएपछि कमाइ पनि बढ्यो। मौरीका लागि भनेर उनले अलग्गै चार वटा लामा टहराहरु निर्माण गरे।
टहरा र घार बनाउन चाहिने काठ स्थानीय वनमा छँदै थियो। टहरालाई जस्तापाताले छाएका छन्। भित्र मौरीका लागि काठका घार राखिदिएका छन्। यति गर्न ३ लाख रुपैयाँ लाग्यो। घार १२५ वटासम्म पुग्यो। मह बेचेर वार्षिक ६ लाख रुपैयाँसम्म कमाइ हुन थाल्यो।
डाँगी दाङको बंगलाचुली गाउँपालिका–४ का वडाध्यक्ष हुन्। ४५ वर्षीय उनले मौरी पाल्न सुरु गरेको १९ वर्ष भयो। अहिले पनि फुर्सद मिल्यो कि मौरीको हेरचाहमा जुटिहाल्छन्।
दिनभर वडाबासीको काममा व्यस्त रहने वडाध्यक्ष डाँगी गहतेरास्थित घरमा पुग्नासाथ मौरीको घार हेर्न पुग्छन्। उनी घरमा नहुँदा ४३ बर्षीया श्रीमती गोमा डाँगी मौरीको हेरचाहमा खट्छिन्। उनीहरुका २२ वर्षीय छोरा अपाङ्गता छन्। १८ वर्षीया छोरी ज्योति गोग्लीमा कृषी विषय पढिरहेकी छन्। आफूले नभ्याउँदा सहयोगका लागि रामबहादुर रावतलाई सहयोगी राखेका छन्।
डाँगी २०७४ सालमा जिल्लाकै अगुवा मौरी पालक किसानकारुपमा नगद रकमसहित सम्मानित भए। तत्कालीन जिल्ला कृषि विकास कार्यालय दाङले दश हजार रुपैयाँ नगदसहित उनलाई सम्मान गरेको थियो।
डाँसबहादुर व्यवसायिकरुपमा मौरी पालनका साथै कुखुरा पालन पनि गरेर रमाइरहेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले उनलाई वडाध्यक्ष पदको उम्मेदवार बनायो। उनी निर्वाचित पनि भए।
वडाध्यक्ष बनेपछि उनले मौरीको हेरचाहका लागि पहिले जस्तो समय दिन सकेका छैनन्।
‘साँझदेखि बिहानसम्म जनताको काम गर्नुपर्दा मौरीको हेरचाह पहिले जस्तो गर्न पाएको छैन,’ डाँसबहादुरले भने, ‘त्यसैले मौरीको संख्या स्वात्तै घट्यो। एकसय बढी घारबाट दुई वर्षमै ३३ घारमात्रै बाँकी रह्यो।’
मौरीलाई समय दिन नसकेको महशुस भएपछि डाँसबहादुर फेरि यसलाई पहिले जस्तै व्यवसायिक रुपमा अघि बढाउनतर्फ लागे। २०८१ सालको सुरुदेखि उनले समय मिलाएर मौरीको हेरचाह गरिरहेका छन्। उनी नहुँदा श्रीमती गोमाले मौरीको हेरचाह गर्छिन्। अहिले मौरीको घर बढेर ५५ वटा पुगेको उनले बताए।
‘राजनीतिमा लागेर मात्रै हुँदो रहेनछ,’ उनले भने, ‘जनताको सेवा गरी बचेको समयमा कुनै पेसा व्यवसाय गर्नु बुद्धिमानी हो,’ आर्थिक रुपमा बलियो भयो भने मात्रै राजनीति गर्न सजिलो हुने डाँसबहादुरले बताए।
‘राजनीति सेवाका लागि मात्रै हो, त्यसबाट कमाइ हुँदैन,’ उनले भने, ‘जनप्रतिनिधिले कुनै इलम वा पेसा व्यवसाय नगरी सम्पत्ति थप्छ भने त्यो सोझै बदमासी हो।’
राजनीतिमा लागेपछि र वडाध्यक्षमा निर्वाचित भएपछि धेरैले उनलाई आफ्नो पेसा नछाड्न सल्लाह दिएका थिए। तर उनले पहिले जस्तै गरी मौरीका लागि समय दिन सकेनन्।
‘कतिले त मलाई तपाईंले राजनीतिमा लागेर गल्ती गर्नुभयो भनेर पनि भने,’ डाँसबहादुरले थपे, ‘तपाईं राजनीतिमा लागेपछि हाम्रो रोजगारी गुम्यो भनेर कति जनाले राजनीति छोड्नुहोस् भन्ने सल्लाह दिइ रहेकापनि छन्।’
वडावासीले गरेको विश्वासलाई आत्मसाथ गर्दै उनीहरुको सेवा गर्ने, त्योबाहेक फुर्सदमा आफ्नो घरको पेसा व्यवसायलाई पनि निरन्तरता दिएर आर्थिक रुपमा बलियो हुने गरी अगाडि बढ्ने सोचमा वडाध्यक्ष डाँसबहादुर छन्।
‘म श्रम नगरी बस्न सक्दिन,’ उनले भने, ‘मौरीका साथै मैले घरमा सोह्र सयवटा ब्रोइलर कुखुरापनि पालेको थिएँ। ती भर्खरै बेचेर सके। अहिले खोर खाली छ। अब सरसफाइपछि फेरि कुखुरा हाल्छु।'
उनको घरमा किराना पसल पनि छ। स्थानीयस्तरमा रोजगारीका अवसरहरु र्सिजना गरी अरुलाई पनि रोजगारी दिन सके अवसर सिर्जना गर्न सक्ने हो भने आयआर्जनका अवसरहरु सिर्जना हुने र त्यसले विदेश पलायन रोक्न सकिने वडाध्यक्ष डाँसबहादुर बताउँछन्।
दाङको पहाडी पालिका बंगलाचुलीका वनमा बाह्रैमास चिउरी लगायत विभिन्न जातका फूलहरु फुल्छ। सिजनमा तोरी पनि फूल्ने हुँदा बंगलाचुली व्यवसायिक मौरी पालनका लागि एउटा राम्रो सम्भावना बोकेको ठाउँ रहेको उनले बताए।
१९ वर्षको अवधिमा डाँसबहादुरले मह बेच्नका लागि कतै डुल्नु परेन। स्थानीय जातको मौरीले उत्पादन गर्ने मह निकै स्वादिष्ट र औषधीय गुणयुक्त हुने भएकाले महको खोजी गर्दै मानिसहरु उनको घरमै आइपुग्छन्। प्रायः घोराही बजारबाट व्यापारी उनको घरमै मह खोज्दै पुग्छन्। यो वर्ष उनले एक क्वीन्टल बढी मह बिक्री गरिसकेका छन्। त्यसबाट एक लाख २० हजार आर्जन भइसकेको छ। मह केजीको एक हजार दुई सयमा बिक्री हुने गरेको उनले बताए।
मंगलबार बिहान मात्रै घोराहीकी व्यवसायी रिखा बिष्टले फोन गरेर १०० किलो मह अर्डर गरेको डाँसबहादुरले सुनाए।
‘उहाँले पहिले पनि हामीबाट मह किनेर काठमाडौं लगायत बाहिरी जिल्लामा पठाउनु हुन्थ्यो,’ उनले भने, ‘आजपनि उहाँले फोन गरेर काठमाडौंबाट माग आएको हुँदा एक सय केजी मह चाहियो भन्नुभएको छ।’
घरमा आइपुग्नेलाई उनीहरुको चाहनाअनुसार ताजा मह निकालेर दिने गर्छन् डाँसबहादुर। आफै मह काडेर लैजान्छु भने त्यो सुविधा पनि दिन्छन्। श्रीमान् घरमा नहुँदा श्रीमती गोमाले आउने ग्राहकलाई मह काडेर दिने गर्छिन्।
‘म अली लाटो मौरीको घार खोजेर मह काड्छु,’ उनले भनिन्, ‘कोही त निकै टोकाहा हुन्छन्। ती मेरो श्रीमानले काड्नु हुन्छ।’
पहिले मौरीले चिल्छ कि भनेर डराउने गोमालाई अचेल मौरीको भुनभुन आवाज मिठो संगित जस्तो लाग्छ। मौरी वरिपरी घुम्दा आनन्द र रमाइलो लाग्ने गरेको उनले बताइन्। डाँगी परिवार साँझ, बिहान मह खाने गर्छन्। तागतिलो र पोषिलो खाने कुरा भएको हुँदा अपांग छोरालाई पनि नियमित मह खुवाउने गरेको गोमाले बताइन्।
उनकाअनुसार मौरी पाल्न खासै समस्या पनि छैन।
‘यो अधिक मह उत्पादन हुने सिजन भएको हुँदा हप्ता दश दिनमा घार सरसफाइ गर्नुपर्छ,’ उनले भनिन्, ‘अघिपछि त पन्ध्र दिनमा एक पटक घारको सरसफाइ गरेपनि पुग्छ।’ दुस्मन किराहरुबाट जोगाउनका लागि बेलाबेलामा घार यताउता सार्नुपर्ने उनले बताइन्।
गोमाले सक्दासम्म मौरी पालेर बस्ने बताइन्। श्रीमान डाँसबहादुरले पनि राजनीतिबाट जनताको सेवा गरी बचेको समयमा मौरीको हेरचाहमा लाग्दा मनमा सन्तोष मिल्ने बताए।
‘कुनैपनि मानिसलाई आफ्नो रूचि अनुसारको काममा तल्लिन हुँदा बेग्लै सन्तुष्टि मिल्छ,’ उनले भने, ‘काममा ब्यस्त हुने मानिसलाई कसैको कुरा काटी बस्नु पर्दैन र अर्कोतर्फ पौरखले स्वाभिमानका साथ बाँच्न सक्छ।’
निर्वाचित भएपछि मौरीका लागि समय नछुट्याउने गल्ती गरेको भएपनि अब कहिलै त्यस्तो भूल नदोहोर्याउने उनले बताए।
‘यो कार्यकाल सकिएपछि फेरि राजनीतिमा सक्रिय हुन्छु हुँदिन म अहिलै त्यो भन्न सक्दिन,’ उनले भने, ‘तर, म भविष्यमा मौरीको साथ सक्दासम्म कहिल्यै छोड्ने छैन।’