उपत्यकाको धूलोधुँवामा बिहान सफा लुगा लगाएर निस्केको मान्छे बेलुकासम्म धुलाम्मे भइसक्छ।
एक दिन लगाएको लुगा अर्को दिन लाउन नसकिनेगरी मैलिन्छ। सहरीया व्यस्त जीवनशैलीमा शनिबार नआइ लुगा धुने फुर्सद निकाल्न मुश्किल पर्छ। घरमा पानी सहज भए सातामा एक दिन हुने विदा पनि लुगा धुँदै बित्छ।
अझ आजै कहीँ टाढा जानुपर्नेछ, लैजानुपर्ने लुगा सफा छैनन्। धुन समय छैन। धोइहाले पनि नसुक्ला भन्ने पीर।
उपत्यकामा हाम्रो जीवनका यस्तै समस्या सल्टाउन तीन जना युवाले जडिबुटीमा 'लन्ड्रीपार्क' उद्योग खोलेका छन्। विदेश र स्वदेशमा काम गरेर अनुभव संगालेका उदयपुरका सन्तोषसिंह कार्की, सुनसरीका प्रविण पोखरेल र सुनसरीकै सुरज बस्नेत यो उद्योगका सञ्चालक हुन्।
सन्तोष सात वर्ष बेलायत बसेर आएका हुन्। सुरज पाँच वर्ष दुबइ बसेर नेपालमै केही गर्न भनी फर्केका हुन्। प्रविण भने यहीँ एक बीमा कम्पनीमा शाखा प्रमुखको काम छोडेर यो व्यवसायमा आएको बताउँछन्।
उनीहरूले फुर्सद नहुने ग्राहकका लागि लुगा धोइदिने व्यवसाय थालेको दुई महिनामात्र भयो। घरमै गएर कपडा ल्याउने र धोएर समयमै घरमै पुर्याउने व्यवस्था पनि गरेका छन्।
'लन्ड्रीसम्म आउन नभ्याउने ग्राहकका घरमै गएर कपडा ल्याउने र पुर्याइदिने सेवा पनि दिइरहेका छौं,' सन्तोषले भने, 'अलि फुर्सद हुने ग्राहकले यहीँ आएर सेवा लिन सक्नेछन्। उनीहरूको आँखै अगाडि लुगा धोइपखाले सुकाइन्छ।'
कपडा धोएर सँगै लिएर चाहने ग्राहकलाई कार्यालयमा कुर्दा समय बिताउन सहज होस् भनेर वाइफाइसहितको 'सिटिङ रुम' व्यवस्था गरिएको उनले जानकारी दिए।
'ग्राहकको कपडा उनीहरूकै अगाडि तत्कालै धोएर दिने प्रविधियुक्त स्रोत, साधन र दक्ष जनशक्ति हामीसँग छन्,' उनले भने। उनका अनुसार लन्ड्रीपार्कमा ७५ लाख लगानी गरिएको छ। यहाँ तीन वटा अत्याधुनिक प्रविधियुक्त मेसिन भएको सन्तोष बताउँछन्।
'हामीकहाँ भएका मेसिन घरमा प्रयोग गर्नेभन्दा गुणस्तरीय छन्। त्यसैले लुगा सफा हुनुका साथै गुणस्तर बिग्रिने सम्भावना हुँदैन,' उनले भने।
उनका अनुसार उद्योगले ग्राहकका सबै कपडा एकै ठाउँमा राखेर धुँदैन। कपडाको गुणस्तर हेरेर मेसिनको धुने तरिका तय हुन्छ। यी सबै काम छाँट्न उद्योगसँग पाँच जनाको टोली छ।
सामान्यतया एक किलो लुगा धुन सय रुपैयाँ शुल्क लाग्छ। एक किलोमा गर्मीमा लगाउने पातला लुगा चारदेखि पाँच वटासम्म अटाउँछन्। दस किलोभन्दा बढी भए किलोको एक सय रुपैयाँ र घरसम्म निःशुल्क पुर्याइदिने व्यवस्था छ।
दस किलोभन्दा थोरै लुगा घरमै पुर्याइदिँदा भने एक किलोको एक सय बीस रुपैयाँका दरले शुल्क लाग्छ। उद्योगमै कपडा पुर्याउने ग्राहकलाई भने किलोको सय रुपैयाँ तिरे पुग्छ।
लन्ड्रीपार्कको कार्यालयमै गएर कपडा धुने ग्राहकले चाहेमा अर्को सुविधा पनि पाउनेछन्। कम्पनीले लुगा धोइदिने समयमा कुरेर बस्न नचाहने ग्राहकले आफ्नो कपडा आफैं धुनसक्छन्।
'उनीहरूले आफैं मेसिनमा लुगा धोएर लैजान्छु भने पाउँछन्। त्यो सेवामा हाम्रो लेबर कस्ट पर्दैन। त्यसैले दस प्रतिशत शुल्क कम हुन्छ,' सन्तोषले जानकारी दिए।
कसैलाई अत्यावश्यक भए दुई घण्टाभित्र कपडा धोएर घरमै ल्याइदिने व्यवस्था पनि उद्योगले गरेको छ। यो सुविधा लिँदा ग्राहकले एक किलो लुगाको २ सय ५० रुपैयाँ तिर्नुपर्छ।
यी सबै मूल्य अन्य 'लन्ड्री'को तुलनामा सस्तो पर्ने सञ्चालकहरूको दाबी छ।सन्तोषका अनुसार लन्ड्रीपार्क उद्योगले दिनमा २ सय ५० किलो कपडा धुन सक्छ।
'अहिले दैनिक सय किलो जति कपडा धोइरहेका छौं,' उनले भने, 'माग यसरी नै बढ्दै गयो भने हामीले चाँडै नै क्षमता बढाउनुपर्छ।'यसका लागि हाल दुइटा 'कलेक्सन सेन्टर' स्थापना भइसकेका छन् जसले लुगा संकलन गर्छ।
लन्ड्रीपार्कले सर्वसाधारणका मात्र होइन, व्यवसायिक संस्थाका पनि लुगाकपडा धुने योजना बनाएको छ। यसमा मेसिन नभएका ड्राई क्लिनर्स, होटल, स्कुल, कलेज, बैंक, फाइनान्स, इन्स्योरेन्स, एयरलाइन्स र सहकारीका युनिफर्म पर्छ।
'यो क्षेत्रमा हामी नयाँ छौं। तर ग्राहकको सेवा र सुविधा नै हाम्रो उद्देश्य हो। लुगा धुने क्रममा हाम्रो कमजोरीले कपडामा कुनै हानी पुगे हामी नयाँ कपडा बराबरकै मूल्य फिर्ता गरिदिन्छौं,' उनले भने।उनीहरूले यसको प्रचार र सम्पर्कका लागि 'द लन्ड्रीपार्क' नामक फेसबुक एकाउन्ट चलाउँदै आएका छन्।