नेपाली ब्रान्ड शृंखला
गेटमै लेखिएको छ- त्यस्तो डाक्टरकोमा कहिल्यै नजानू, जसको अफिसको बिरुवा मरेको छ।
बाहिरै यस्तो लेखेपछि भित्र हरियाली हुने नै भयो। छिर्नासाथ रंगीबिरंगी गमलाले आँखा खिच्छन्। गमलामा फूल र बिरुवा ढकमक्क छन्।
यो हो, धुम्बाराहीस्थित ‘आई एम द गार्डेनर।’
अर्थात्, 'म माली हुँ।'
यो फूल–बिरुवा पाइने नर्सरी हो। अन्य नर्सरीभन्दा भिन्न छ। नाम पनि, काम पनि।
यो नाम नर्सरीलाई मात्र लक्षित गरी राखिएको होइन। बिरूवा लगेर रोप्ने हरेक मान्छे माली हुन सक्छन् भन्ने सन्देश पनि हो।
यसलाई फूल–बिरुवाको 'शोरुम' भन्न रुचाउँछन् ‘आई एम द गार्डेनर’ का सञ्चालक तथा बजार व्यवस्थापक केवल रिसाल।
'यहाँ अरू नर्सरीमा जस्तो बिरूवा मात्रै पाइने हैन,' उनले भने, 'ती बिरूवा सिधै लगेर कोठामा राख्ने खालका हुन्छन्। सुन्दर गमलासहित।'
यहाँबाट गमलासहितको बिरूवा लगेपछि ग्राहकले कुनै झमेला लिन नपर्ने उनी बताउँछन्। 'न गमला खोज्न जानुपर्यो, न माटो। कोठा-बरन्डामा सिधै सजाउन सकिन्छ। यो आकर्षक र सफा हुन्छ,' उनले भने।
हामीकहाँ फूल-बिरूवा नर्सरी त धेरै छन्। तयारी गमला-बिरूवा व्यवसाय भने विस्तारै फाट्टफुट्ट देखिन थालेको छ। 'आई एम त गार्डेनर' यसको शोरूम नै भएको केवल बताउँछन्।
'विदेशमा यस्तो गार्डेनिङ सेवा लोकप्रिय छ,' उनले भने, 'यहाँ भने यति ठूलो स्केलमा गर्ने हामी पहिलो हौं। हामी ग्राहकलाई तत्कालै बगैंचा तयार गर्न सकिने गरी फूल–बिरुवा उपलब्ध गराउँछौं।'
केवलले यो काम थालेको दुई वर्ष भयो। उनले यसअघि ७ वर्षसम्म बजार व्यवस्थापनमै काम गरेका थिए। उनलाई केही नयाँ काम गर्ने हुटहुटी जाग्यो। अनि पारिवारिक व्यवसाय नै नर्सरी भएका विराज खड्कासँग सल्लाह गरे।
अनुभवी विराजसँगको सहकार्यमा केवलले ग्राहकलाई पूर्ण बगैंचा सुविधा दिने नर्सरी स्थापना गरेका हुन्। उनीहरू दुवै आफूलाई 'बिरूवा प्रेमी' भन्छन्। सुरूमा उनीहरूले अनलाइनमार्फत् बिरूवा बेच्थे। माग बढ्दै गएपछि ग्राहकको सुविधानिम्ति भाटभटेनी, सेलवेजजस्ता डिपार्टमेन्ट स्टोरमा आउटलेट खोलेका छन्।
'काठमाडौंमा नर्सरी त जति पनि छन्। पाँच सयजति त दर्तै छन्। तीभन्दा फरक गर्न सकिन्छ कि भनेर यतातिर ध्यान दिएँ,' केवलले भने।
बगैंचा बनाउन धेरै ठाउँ वा जमिन चाहिन्छ भन्ने धारणामा परिवर्तन ल्याउन सकिनेमा उनी विश्वस्त छन्।
‘त्यसैले हामी इन्डोर प्लान्ट (कोठामै हुर्कन सक्ने बिरूवा) मा केन्द्रित छौं। यिनलाई कोठाभित्रै राख्न सकिन्छ,' उनले भने, 'कोठा लिएर बस्नेहरूले पनि सानो बगैंचाको आनन्द लिन सक्नेछन्।'
'इन्डोर प्लान्ट मात्रैको शोरुम खोलेर यसरी व्यापार गर्ने हामी पहिलो हौं,’ केवल भन्छन्,‘ग्राहकले लैजाने फूल–बिरुवाको स्याहारसुसार तरिकाबारे पनि आवश्यक जानकारी दिन्छौं।’
इन्डोर बिरूवाहरू पनि घरको ठाउँअनुसार फरक-फरक हुने उनी बताउँछन्। भान्सा, सुत्ने कोठा, बाथरुम, लिभिङ रुममा राख्न छुट्टाछुट्टै प्रजातिका छन्।
'काठमाडौंमा प्रदूषण बढेको छ। मर्निङ वाकमा निस्कनसमेत कठिन भइसक्यो,' उनले ती बिरूवाका फाइदा बुझाउँदै भने, 'घरभित्रै विभिन्न बिरूवा रोपेर अक्सिजन लिन सकिन्छ। हावा शुद्ध बनाउन सकिन्छ।'
अमेरिकी वैज्ञानिक संस्था नासाले हालै गरेको एउटा अध्ययनको निष्कर्ष सुनाउँदै केवलले भने, ‘सबभन्दा बढी अक्सिजन दिने बिरूवा स्नेक प्लान्ट रहेछ। नासाको अध्ययनअनुसार यसले हावामा भएको प्रदूषण कम गर्न मद्दत गर्छ।'
स्नेक प्लान्ट लाम्चो आकारको फूल नफूल्ने बिरूवा हो, जुन कोठाभित्रै पनि राम्ररी फस्टाउँछ। त्यसैले फूलका सोखिनदेखि आफ्नो स्वास्थ्यप्रति सचेत व्यक्ति पनि बिरूवा लिन आउने केवल बताउँछन्।
आई एम द गार्डेनरमा २ सयदेखि १२ हजार रुपैयाँसम्मका फूल–बिरुवा पाइन्छन्। स्थापित हुने क्रममा भएकाले नाफाभन्दा पनि ग्राहकलाई आफ्नो ब्रान्ड चिनाउन लागिपरेको उनी बताउँछन्। त्यस्तै यो ठाउँ एक बगैंचा मात्र होइन। सुन्दर बिरूवाकाबीचमा कुर्सी-टेबलहरू छन् जहाँ बसेर प्रकृतिको अनुभव पनि गर्न सकिन्छ।
गमलामा तयारी बिरूवा स्याहार्न पनि सजिलो हुने उनी बताउँछन्।
'फूल–बिरुवाको रहर भए पनि रोप्नेदेखि हुर्काउने र स्याहारसम्मका झमेलाले कतिपयले समय र जाँगर निकाल्न सक्दैनन्,' उनले भने, 'यस्तै खाले ग्राहकका लागि हामी छौं।'
घरका साथै रेस्टुरेन्ट, होटल, पार्टी, सेमिनार लगायत ठाउँमा पनि छोटो समयमा फूल–बिरुवा सजाउन यो प्रभावकारी हुने उनी बताउँछन्।
आई एम द गार्डेनरले यी बिरूवाहरू पहिले प्लाष्टिकका झोलामा उमार्छ। जसका लागि छुट्टै ठाउँमा अर्को नर्सरी छ। फुलिसकेपछि गमलासहित यहाँ ल्याएर उपलब्ध गराउँछ। यसका साथै स्थानीयस्तरबाट पनि बीऊ तथा सरसामान उनीहरूले ल्याउँछन्। पछि नेदरल्यान्ड्सबाट फूल–बिरुवा आयात गर्ने योजना बनाएको केवलले जानकारी दिए। नेदरल्यान्ड्स व्यावसायिक फूल खेतीका लागि विश्वमै चर्चित छ।
‘यहाँबाट बिरूवा लगेर सिधै सजाउन सकिन्छ। जुन बिरुवालाई जत्रो आकार दिने हो, त्यसलाई त्यत्रै गमलामा सेट गर्छौं। बिरुवा पनि त्यहीअनुसार हुर्कन्छ। यसलाई पछि अर्को भाँडोमा सार्ने झन्झट हुँदैन,' केवलले भने, 'नियमित हेरविचार र गमला सरसफाइ र रङरोगनको झन्झट पनि पर्दैन।’
सहज र हलुका हुनाले ग्राहकले पनि प्लाष्टिककै गमला खोज्ने गरेको उनले बताए। यी गमला पुनर्प्रयोग गर्न मिल्ने 'युपिभिसी'बाट बनेका उनले जानकारी दिए। प्लाष्टिक विकल्पमा सेरामिक प्रयोग गर्ने सोचमा उनी छन्।
‘अहिले गमला भारत र चीनबाट आउँछ। विस्तारै नेपालमै बन्ने सेरामिक प्रयोग गर्ने सोचमा छौं,’ केवलले भने।
आइ एम द गार्डेनरमा पाइने गमलासहितका यी फूल–बिरुवामा माटो हुँदैन। ७० प्रतिशत कम्पोस्ट मल र ३० प्रतिशत कोकोपिट (नरिवलको जटाको मसिनो धूलो जो माटोझैं देखिन्छ) हुन्छ। यसले गमला अन्यभन्दा यसै हलुका हुन्छ। यताउता सार्न सजिलो हुनका साथै दिनकै पानी हाल्ने झमेला हुँदैन। कोकोपिटमा पानी धेरै सोसिने भएकाले धेरै दिनसम्म बाहिर जानुपरे पनि बिरूवा नसुक्ने केवल बताउँछन्।
‘हामीले तयार गरेको गमलामा खनिजजस्ता आवश्यक तत्व पहिल्यै हालेका हुन्छौं,' उनले भने, 'बोट सुक्दैन पनि। कोकोपिटले वातावरणमा पनि फाइदा गर्छ। विदेशमा पनि माटो प्रयोग गर्न छोडिसकिएको छ।'
इन्डोर, मौसमी लगायत तयारी अवस्थाका सेलाजिनेला, साइक्लामेन, गुलाब, बेम्बो पाम, फोनिक्स पाम, लण्डन डम्पी, स्नेक प्लान्ट, साल्भिया, बिग पेन्सी, बटम रोज लगायत प्रकारका फूल–बिरुवा यहाँ पाइन्छ।
प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सामान आफूले उपलब्ध गराउने दावी केवलको छ। यस्ता बिरुवा विवाह, व्रतबन्ध, जन्मदिन, वार्षिकोत्सव जस्ता अवसरमा उपहार दिने चलन बढिरहेको उनी बताउँछन्।
'सामान वा बुके दिनुभन्दा गमलासहितको फूल दिन सुझाउँछौं हामी। किनकि यो सुन्दर, स्वस्थ्य र ताजा रहिरहन्छ,' उनले भने, 'यसरी उपहार दिन हामीले फूल–बिरुवाको प्याकेजिङमा पनि ध्यान दिएका छौं।'
सबै तस्बिरः लिला चन्द/सेतोपाटी