जाडो याम लागिसक्यो।
चिसो बढेसँगै न्याना सिरक–डसना जोहो गर्न थाल्नुभयो होला।
पुराना भएकाहरू फालेर नयाँ किन्ने सोच बनाउनुभयो होला।
तर तपाईंलाई थाहा छ, नयाँ सिरक-डसनाका लागि धेरै पैसा खर्चिनु पर्दैन भनेर?
सबभन्दा पहिले त पुराना सिरक–डसना फाल्दै-नफाल्नुहोस्। पुराना, झुत्रा, कामै नलाग्ने भएका कपडा पनि बटुल्नुहोस्।
यी सबै बोकेर तपाईं कहीँ जान पर्दैन। यिनै सामानबाट तपाईंले घरमै बसीबसी थोरै पैसामा नयाँ सिरक-डसना बनाउन सक्नुहुनेछ।
कसरी भन्नुहोला?
यी कपडाबाट नयाँ सिरक–डसना बनाउने मेसिनसहितको गाडी बोलाउनुहोस्। यसले घरमै आएर थोत्रा कपडाबाट तपाईंले चाहेजस्तो डिजाइन र आकारको सिरक, डसना, सिरानी, चकटीलगायत सामान बनाइदिन्छ।
यस्तै मेसिनसहितको गाडी लिएर आउनेमध्ये एक हुन् रोज मोहम्मद। उनी घरघर गएर पुराना कपडाबाट नयाँ सामान बनाइदिन्छन्। यसरी बन्ने नयाँ सिरक–डसना बजारमा पाइनेभन्दा सस्तो र गुणस्तरीय हुने उनी बताउँछन्।
‘ग्राहककै पुराना कपडा पेलेर उहाँहरूकै आँखा अगाडि सिरक, डसना, सिरानी बनाइदिन्छौं,’ रोजले भने, ‘रेडिमेडभन्दा २–४ सय सस्तो पर्छ। भनेजस्तो आकार र डिजाइन हुन्छ। यसरी बनाएको बलियो पनि हुन्छ।’
रोजले बनाउने विधि बुझाए।
सबभन्दा पहिले सबै पुराना कपडा एक ठाउँमा राखिन्छ। लेदरका बाहेक सबै किसिमका कपडा राख्न सकिन्छ। लुगामा भएका टाँक वा अन्य धातुका सामान निकाल्नुपर्छ। त्यसपछि गाडीमा जोडिएको मेसिनमा हालिन्छ। कपडाको लहरो बनाएर बटार्दै मेसिनमा राख्दै जानुपर्छ। कपडाको लहरा थप्दै जानुपर्छ। यसरी मेसिनले विस्तारै कपडा काट्दै मसिनो बनाउँछ। केही छिनमा यसले कपासकै रुप लिन्छ।
काम पाउने हो भने एक दिनमा ५० भन्दा बढी डसनाका लागि कपास निकाल्न सकिने रोज बताउँछन्।
रोजका अनुसार बजारमा समान्यतया बेचिने डसना, चकटी, सिरानी कालो कपासबाट बन्छ। यो कपास पनि यस्तै पुराना कपडा पेलेर बनाइएको हुन्छ।
‘हामीले प्रायः डसनाहरू कालो कपासबाटै बनाउने गरेका छौं। सेतो कपासको बनाउन महँगो पर्छ,’ उनले भने, ‘बढी भारी पनि। त्यसैले बजारमा ठिकै खालको तयारी डसना लगायत किन्नुभन्दा घरमै यसरी बनाउनु किफायति हुन्छ।’
रौतहट घर भएका २८ वर्षीय रोजको पुस्तेनी पेशा नै सिरक-डसना बनाउने हो। उनीभन्दा अगाडिका पुस्ताले घर–घरमा गई पुरानो कपास दह्रो लौरोले पिटेर मिहीन बनाउँथे। अनि हातैले सिलाएर सिरक-डसना बनाउँथे। रोजले भने यही कामलाई प्रविधि प्रयोग गरेर सजिलो र छिटो बनाएर निरन्तरता दिइरहेका छन्।
बाउबाजेले गर्दै आएको तरिकामाभन्दा अहिलेको तरिकामा काम गर्न सजिलो भएको उनको अनुभव छ। रोज १५ वर्षदेखि यो काम गर्दैछन्। कलिलै उमेरबाट काम थालेका उनी १० वर्षअघि सिरक-डसना बनाएरै जीविका गर्छु भनेर काठमाडौं आएका थिए। असनको एक पसलमा विदेशबाट ल्याइएको कपासबाट सिरक बनाउने काम गर्थे।
एक दिन उनले सितापाइलामा सिरक-डसना बनाउने मेसिन देखे। मेसिनले पुराना कपडाबाट डसनामा प्रयोग हुने कपास बनाइरहेको थियो। केही मान्छे उनले जस्तै नयाँ डसना बनाउन व्यस्त थिए।
पुरानो कपास पिटेर नयाँ सिरक-डसना बनाउन सिपालु रोजलाई मेसिनले आकर्षित गर्यो। मेसिन किन्ने निधो गरे। करिब १५ लाख रुपैयाँ खर्चेर मेसिन र सेकेन्ड ह्यान्ड ट्रयाक्टर किने। ठूलो भर्याङदेखि गैरीगाउँ जाने बाटोमा सिरक-डसना, तन्ना, सिरकका खोल लगायतको पसल खोले। पसलमा आफैंले बनाएका सामान बेच्न थाले। ग्राहकले उनीकहाँ पुराना कपडा ल्याउँदै आफूलाई चाहिएको आकार र डिजाइनमा अर्डर गर्न थाले।
पछि उनलाई लाग्यो, 'पसलमा पुराना कपडा वा सिरक-डसना ल्याउन सम्भव नभएकाहरूका लागि कसरी सुविधा दिने?'
'अनि मैले घरमै गएर काम गर्न थालेँ। ग्राहकले आँखा अगाडि नै नयाँ सामान बनेको देख्दा बढी विश्वास गर्ने भए,' रोजले सुरुआती दिनका अनुभव सुनाउँदै भने, 'अनि त घरमै गएर गर्ने कामको अर्डर बढी आउन थाल्यो।'
‘बजारमा पुरानो कपडा पेलेर बनेको कपासबाट डसना बेच्छन् भनेर थाहा पाउने ग्राहकलाई शंका हुन्थ्यो। कतै मरेका मान्छेका वा फोहोर कपडा बटुलेर बनाउने हो कि भनेर हिच्किचाउँथे पनि,’ रोजले सुनाए, ‘तर अहिले घरघरमा मेसिन लगेर उनीहरूकै कपडाबाट बनाइदिएपछि खुसी हुन्छन्।’
शंखमुलकी सुबिना भट्टराईले अहिले घरमा भएका पुराना कपडाबाटै नयाँ डसना बनाउँछिन्।
भन्छिन्, ‘पहिले घरका पुराना कपडा टाउको दुखाइ बन्थे। फाल्न नि लोभ लाग्ने। प्रयोगमा नि नआउने। घरमा जता हेर्यो कपडा नै कपडा। कति कपडा त मनमा ढुंगै राखेर फोहोरमा फालेँ। अब घरमै कपडाको सदुपयोग हुने थाहा पाएदेखि त धेरै चकटी, सिरानी र डसना बनाइसकेकी छु।'
यसरी सिरक-डसना बनाउन तौल र यसका लागि चाहिने सामान कुन राख्ने भन्ने आधारमा ज्याला तोकिने रोज बताउँछन्।
रोज जाडो महिनाभरि सिरक-डसना बनाउन व्यस्त हुन्छन्। दैनिक २० देखि ३० हजारसम्म व्यापार हुने उनले सुनाए। सिजनमा त ३–४ जना कामदार नै राखेर काम गर्छन्। यही व्यापारबाट उनले काठमाडौंमा ३ जना छोराछोरीसहित ५ जनाको परिवार राम्ररी धानेका छन्। सबै खर्च कटाएर महिनाको २० हजार रुपैयाँ बचतसमेत हुने उनले सुनाए।
‘ग्राहकको मन जित्न सकियो भने व्यापार सफल हुन्छ,’ उनको विश्वास छ।
त्यसैले ग्राहकको समय र आवश्यकता बमोजिम काम गर्ने उनले सुनाए। गर्मी महिनामा उनको व्यापार खास चल्दैन। त्यतिबेला उनी पसलमा भएका कपडाको मात्र व्यापार गर्छन्। ट्रयाक्टर गाउँमा खेतीपातीका लागि भाडामा पठाउँछन्।
उनी र यस्तै काम गर्ने अरूले पनि घरमै आएर सुविधा दिने भनेको प्रायः जाडो याममै मात्र हो।
त्यसैले तपाईंको घरमा थुप्रिएका पुराना कपडा सदुपयोग गर्ने बेला यही हो।
एकातिर फाल्ने सामानको पुनः प्रयोग, अर्कोतिर पैसा बचत।
बोलाउने हैन त, सिरक-डसना बनाउने गाडी !
(रोजलाई पायक पर्ने ठाउँमा बस्नेहरूले उनीसँग यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छः ९८२३५८५६२५)
सबै तस्बिरः लिला चन्द/सेतोपाटी