काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा भक्तपुरका सुमन कार्कीले भर्खरै बजारमा आएको टिभिएस एनटर्क स्कुटर बुकिङ गरे। केही समयअघिसम्म मोटरसाइकल नै किन्ने सोच बनाएका कार्कीले मोटरसाइकल जत्तिकै स्कुटर पाएपछि सोच परिवर्तन गरेका हुन्।
‘मोटरसाइकलभन्दा कम रहेनछ यो स्कुटर। यसका फिचर मनपरे,’ सुमनले भने, ‘इन्जिन पनि बाइकको जत्तिकै छ।’
यो स्कुटरमा १२५ सिसि इन्जिन छ। डिस्क ब्रेक, ब्लुटुथ लगायत विशेषताले आफूलाई स्कुटर स्मार्ट लागेको उनी बताउँछन्।
‘स्कुटर महिलाले मात्रै चढ्ने सवारीसाधन होइन। काठमाडौंको सडकमा स्कुटर नै सहज हुन्छ। धेरै पुरुषहरू आजभोलि स्कुटर नै रुचाउँछन्,’ उनले भने, ‘मेरा साथीहरूको पनि छ।’
कलंकीका अविनाश पन्तले पनि स्कुटर नै किन्ने सोच बनाएका छन्। मोटरसाइकलको तुलनामा कम मूल्य पर्ने र चलाउनका साथै सामान ओसारपसार गर्न सहज हुनाले स्कुटर नै रोजाइमा परेको उनी बताउँछन्।
‘सानो परिवार हुनेका लागि स्कुटर नै उपयुक्त हुन्छ। वास्तवमा पारिवारिक सवारीसाधन हो स्कुटर,’ श्रीमतीसहित अटो शोमा आएका पन्तले भने, ‘म र मेरी श्रीमती दुवैले चलाउन सक्छौं।’
पछिल्लो समय स्कुटर चलाउने पुरुषको संख्या बढेको छ। केही वर्षअघिसम्म स्कुटर महिलाको सवारी मानिन्थ्यो। अहिले ‘यूनिसेक्समा’ सवारी बन्दैछ।
बजारको मागअनुसार विक्रेताहरूले पनि पुरुष ग्राहकलाई लक्षित गरेर विभिन्न मोडल भित्र्याएका छन्। प्रचार गरिरहेका छन्।
‘पावरफुल, स्पोर्टी लुक्स भएका स्पोर्टस् रेस स्कुटर हामीकहाँ उपलब्ध छन्,’ इटालियन ब्रान्ड अप्रिलियाको नेपालका लागि अधिकृत विक्रेता डी लाइफस्टाइलका दरबारमार्ग शोरुम इन्चार्ज विशाल ठकुरीले भने।
अटो शोमा दैनिक २० वटासम्म स्कुटर बुकिङ भएको र त्यसमा अधिकांश पुरुष ग्राहक रहेको उनले जानकारी दिए। अप्रिलियाका १५० सिसिसम्म इन्जिन क्षमताका स्कुटर उपलब्ध छन्।
पुरुष ग्राहक लक्षित गरेर ठूला टायर, डिस्क ब्रेकयुक्त र लामो दूरीमा समेत यात्रा गर्न सकिने स्कुटर कम्पनीहरूले बजारमा ल्याइरहेका छन्।
हामीकहाँ अधिकांश सवारीसाधन भारतबाट आउँछन्। यसका कारण भारतीय ‘ट्रेन्ड’ नै यहाँ देखिने विक्रेताहरू बताउँछन्। भारतमा पछिल्लो समय पुरुष स्कुटर चालकको संख्या बढेकाले त्यसकै प्रभाव बजारमा देखिएको बताइएको छ। कम्पनीहरूले पनि ‘यूनिसेक्स’ स्कुटर उत्पादन गर्न थालेका छन्।
‘पहिले–पहिलेका स्कुटर महिला लक्षित हुन्थे। डिजाइन पनि त्यस्तै,’ अप्रिलियाका शोरुम इन्चार्ज ठकुरीले भने, ‘अचेल भने अलि बोल्ड र मस्कुलिन बडी भएका स्कुटर चलेका छन्। महिला–पुरुष दुवैलाई हुने गरी।’
भारतबाटै आयात हुनाले हामीकहाँ पनि त्यही प्रभाव देखिने बिक्रेताहरू बताउँछन्।
बालाजुका अंकित अधिकारी पनि अटो शोमा उपलब्ध स्कुटरबारे बुझ्दै थिए।
‘नयाँ–नयाँ डिजाइनका स्पोर्टी स्कुटर आएका रहेछन्। २–३ वटा मोडल मन परेको छ, चाँडै किन्छु,’ अंकितले भने, ‘अचेलका स्कुटर हामीलाई पनि हुने खालका आएका छन्। घरमा मोटरसाइकल छ भने पुरुषले मात्रै चलाउने गरेको पाइन्छ। स्कुटर भए सबैले चलाउन पाइयो।’
विक्रेताहरूका अनुसार अप्रिलिया, भेस्पा, होन्डा डियो र एभिएटर, टिभिएस एनटर्क र जुपिटर क्लासिक, यामाहा जेडआर, हिरो मेस्ट्रो एज, महिन्द्रा गष्टो लगायत मोडल महिला–पुरुष दुवैको रोजाइमा पर्छन्।
'स्कुटरमा महिला–पुरुष भन्ने कुरा नै रहेन। ग्राहकले पनि त्यसरी हेर्दैनन् र उत्पादकले पनि। अब स्कुटर महिलाको मात्र भन्ने रहेन,' ठकुरीले भने।