नेपाल आयल निगमले शनिबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल सबैमा प्रतिलिटर ३३ रूपैयाँको दरले मूल्य बढाएको छ।
निगमले गरेको मूल्य वृद्धिसँगै पेट्रोलका लागि उपभोक्ताले प्रति लिटर ११३ रुपैंयाँ तथा डिजेल र मट्टितेललाई ९५ रुपैयाँ तिर्नुपर्नेछ।
यी बाहेक निगमले हवाई इन्धनमा समेत मूल्य बढाएको छ। हवाई इन्धनतर्फ स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रुपैयाँ तथा अन्तराष्ट्रिय विमानहरूले भर्ने इन्धनमा प्रति हजार लिटर ७५ अमेरीकी डलरले मूल्य बढेको छ।
निगमले पछिल्लो तीन महिनायता पाँच पटक मूल्य वृद्धि गरेको छ। निगमले हरेक १५ १५ दिनको अन्तरमा तेलको भाउ समायोजन गर्दै आएको छ।
गत चैत १९ देखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। चैत १९ मा प्रति लिटर पेट्रोलको मूल्य १०५ रुपैयाँ थियो भने मट्टितेल र डिजेलको ८५।
त्यसपछि त्यसको करिब १५ दिनपछि पेट्रोलमा एक र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ प्रति लिटरको दरले मूल्य बढ्यो। गत बैशाख ३ मा पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७ रुपैयाँ कायम गरियो।
त्यसको १५ दिनपछि निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ३ रुपैंयाँको वृद्धि गर्दै पेट्रोलको १०८ रुपैयाँ र मट्टितेल र डिजेलको ९० रुपैयाँ प्रतिलिटर मूल्य कायम गर्यो।
तीन चोटी लगातार बढेको इन्धनको मूल्य त्यतीमै सिमित भएन। गत जेठ २ गते तीनै पदार्थको मूल्य थप दुई रुपैयाँले वृद्धि भयो। यससँगै प्रति लिटर पेट्रोलको ११० रुपैयाँ तथा मट्टितेल र डिजेलको ९२ रुपैयाँ कायम भएको थियो।
लगातार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण उपभोक्तालाई मार परेको तथा मूल्य वृद्धि हुने भन्दै सरकारको आलोचना सुरु भएको छ।
तर निगमका प्रवक्ता बिरेन्द्र गोइत भने इन्धनको मूल्य घट्नु वा बढ्नुका पछाडि सरकार वा निगमको कुनै भूमिका नभएको दाबी गर्छन।
उनी स्वचालित मूल्य प्रणाली लागु गरिएकाले भारतिय आयल निगम (आइओसी) ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने बताउँछन्। पछिल्लो समय आइओसीले मूल्य बढाएर पठाएका कारण यहाँ पनि मूल्य बढेको उनको तर्क छ।
‘हामीले आइओसीबाट तेल खरिद गर्ने हो। उसले बढाएर पठाए यता पनि बढ्छ, घटाएर पठाए यहाँ पनि घट्छ’, गोइतले भने।
गोइत २०७१ असोज १३ यता स्वचालित मूल्य प्रणाली लागू भएपछि २६ पटक मूल्य घटेको तथा सोही संख्या बराबर बढीसकेको भन्दै निगमले उपभोक्ता मारेर मुल्य लगातार बढायो भन्नु गलत भएको बताउँछन्।
‘आइओसी आफैंले तेल उत्पादक राष्ट्रबाट कच्चा तेल किनेर ल्याउँछ र त्यसलाई प्रसोधन गर्छ। प्रसोधन गरिएको तेल हाम्रो सिमा नजिकको डिपोसम्म आइपुगेपछि हामी हाम्रा डिपोसम्म ल्याउँछौँ’, गोइतले भने, ‘अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ। त्यसकै असर हाम्रो बजारमा देखिएको हो।’
गोइतको भनाइमा आइओसीले हरेक १५ दिनको अन्तराष्ट्रिय बजारको मूल्य विश्लेषण पश्चात नयाँ मूल्यसुची नेपाल आयल निगमलाई पठाउँछ। यसमा उसले सम्बन्धीत देशबाट ल्याउँदाका भाडा, प्रसोधन खर्च, नेपालको सिमा नजिकको डिपोसम्म ल्याउँदाको भाडा र सम्बन्धीत राज्यले उठाएको कर जोडिएको हुन्छ।
अहिलेको मूल्य अनुरुप निगमले रक्सौल÷बरौनीको डिपोबाट पेट्रोल खरिद गर्दा ६६.५६ रुपैयाँ आइआोसीलाई प्रति लिटर तिर्छ। त्यसपछि सो मूल्यमा भन्सार शूल्कबापत १५.२३ रुपैयाँ, सडक मर्मत सम्भार करबापत ४, पूर्वाधार करबापत ५, प्रदुषण शूल्क बापत ०.५०, मूल्य स्थिरीकरण कोषबापत १.१३, मूल्य अभिवृद्धि करबापत १३ जोडेर ३८ रपंैयाँ ८६ पैसा नेपाल सरकारले उठाउँछ।
यसरी सरकारले उठाउने रकमसँगै निगमले रक्सौल÷बरौनीबाट काठमाडौंसम्म ल्याउँदाको ढुवानी भाडाबापत ३.४२, बीमा खर्चबापत ४ पैसा, निगमको प्रशासनिक एवं विक्री खर्चबापत ६० पैसा, प्राविधिक नोक्सानीबापत ८१ पैसा र पेट्रोल बिक्रेताको खर्चबापत दिनुपर्ने ४ रुपैंयाँ ३० पैसा जोडिन्छ।
यी उल्लेखित सबै शूल्क जोड्दा प्रति लिटर पेट्रोलको लागत ११४ रुपैंयाँ ५९ पैसा पर्न आउँछ। हाल निगमले प्रति लिटर पेट्रोलको मूल्य ११३ रुपैैयाँ तोकेको छ जसको आधारमा प्रति लिटर पेट्रोलमा १ रुपैंयाँ ५९ पैसा घाटा रहेको निगमको दाबी छ।
नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा १.५९ रूपैयाँ तथा डिजेल र मट्टितेलमा ३.४९ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ।त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा नढाइएको कारण यसमा प्रति सिलिन्डर १३९.३९ घाटा रहेको निगमले बताएको छ।
निगमका अनुसार १५ दिनमा उसलाई १८ करोड ६२ लाख रूपैयाँ घाटा हुनेछ। यद्यपी निगमले ग्यासमा भएको घाटालाई मूल्य स्थिरिकरण कोषबाट बेहोर्ने आपूर्ति मन्त्रलायसमक्ष प्रस्ताव गरेको छ।
हालसम्म यस कोषमा करिब साढे ४ अर्ब रकम जम्मा भइसकेको छ। निगमलाई सोही कोषको रकम प्रयोग गरेर मूल्य स्थिर राख्न दबाब पर्दै आएको छ।
तर निगम भने कोषको रकम प्रयोग गरेर मूल्य घटाउने पक्षमा देखिँदैन्।
‘अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लाग्नेक्रम जारी छ। त्यसैले अहिले नै सो रकम चलाउने हो अझ बढ्ने मूल्यलाई समायोजन गर्न थप कठिन हुन्छ र त्यसरी निगमलाई पर्ने घाटाले निगम सकंटमा पर्ने निश्चित छ। त्यसैले त्यसो गर्न अहिलेकै अवस्थामा हामी असमर्थ छौँ’, गोइतले भने।
अन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य स्थिर छैन्। पछिल्लो १५ दिनको समग्र मूल्यलाई हेर्ने हो भने ७५ देखि ८० डलर प्रति ब्यारेलमा तेलको मूल्य कायम भएको छ।
अन्तराष्ट्रिय बजारमा पेट्रालियम पदार्थको मूल्य बढ्नु वा घट्नुका पछाडि माग, आपूर्ति तथा भुराजनीतिले प्रमूख भूमिका खेलेको हुन्छ।
तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेक र रुसले कच्चा तेलको उत्पादनमा कटौती गर्दै आएका छन् भने योक्रम सन् २०१८ मा सम्म रहने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
त्यस्तै तेल उत्पादक गैरओपक राष्ट्र भेनेजुयलाले खेपीरहेको आर्थिक संकटका कारण तेल उत्पादनमा भारी कटौती गरिरहेको छ।
सिएनबिसीको भनाईमा यदि भेनेजुयलाको आर्थिक संकटको विद्यमान अवस्था जारी रहे उसको तेल उत्पादन क्षमता पूर्णरुपमा बन्द हुन जान्छ र यस्तो अवस्थामा कच्चा तेलको मूल्य अन्तराष्ट्रिय मूल्य सय अमेरिकी डलर प्रति ब्यारेलसम्म पुग्न् सक्छ।
त्यस्तै अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा लगातार वढ्दै जानुका अर्को कारण अमेरिका र इरानको बीचको सम्बन्धलाई लिइएको छ।
इरानसँग अमेरिका, फ्रान्स, जर्मनी, संयुक्त राज्य लगायतका शक्तिले सन् २०१५ मा भएको आणविक सम्झौता एक्लौटी भएको भन्दै अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरीने बताएका छन्। ट्रम्पले अन्तराष्ट्रिय आणविक सम्झौता तथा संयुक्त राष्ट संघको ‘रिजोलुसन’ प्रति इरान इमान्दार नभएको भन्दै इरान विरुद्ध कडा आर्थिक प्रतिबन्ध लगाइने बताएका छन्।
यसका कारण इरानले कच्चा तेलको उत्पादनमा कटौती गरेको छ। इरान कच्चा तेल उत्पादन र निर्यात गर्ने एक प्रमूख राष्ट्र मध्येको एक र ओपेकको सदष्य राष्ट्र समेत हो।
त्यस्तै दुई क्षेत्रिय राष्ट्र साउदी अरब र इरानबीचको तनाव, लिबिया, इराक लगायतका अन्य तेल उत्पादक राष्ट्रहरुको संकट समेत अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको विज्ञहरुको भनाई छ।
यद्यपी अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्ने वा घट्ने भएपनि आइओसीले पठाउने मूल्य विवरण निगमले पारदर्शीरुपमा सार्वजनिक नगर्ने भएकाले समस्या आउने गरेको पेट्रोलियम क्षेत्रका जानकार तथा नेपाल पेट्रोलियम व्यवसयाी महासंघका अध्यक्ष लिलेन्द्र प्रधान।
‘अन्तराष्ट्रिय बजारमा इन्धको मूल्यमा भइरहेको वृद्धिले गर्दा भाउ बढेको छ। त्यसमाथि इन्धनको खरिद डलरमा गरिने भएकाले त्यसको असर यहाँसम्म परेको छ। तर निगमले पारदर्शीरुपमा बढेको बेला बढाउने र घटेको बेला घटाउँदैन्’ प्रधानले भने, ‘त्यसले उप्रति शंश्य बढेको हो।’
प्रधान सरकारले आइओसीले पठाउने गरेको विवरण र यहाँसम्म ल्याउँदाको लागत नियमन गर्नुपर्ने र आफूअनुकल मूल्य बढाउने वा घटाउने गर्नेभन्दा ब्यबहारिकरुपमा मूल्य समायोजन गरे निगमप्रतिको विश्वास बढेर जाने बताउँछन्।