यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैंकले सल्यानको खलङ्गामा नयाँ शाखा खोलेको छ।
मेगा बैङ्क सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले बुधबार शाखाको औपचारिक उद्घाटन गरे। मेगा बैंकको यो ४८ औं शाखा हो।
सल्यान, खलङ्गामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैङ्क भएको छ। खलंगामा सानो बजार रहेको छ जसले यहाँ स्थापना भएका धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकताहरूलाई परिपूर्ति गर्दै आएको छ।
मेगा बैंक सञ्चालक समितिका सदस्य पाण्डेले यहाँका साना किसानहरूलाई कृषि र पशुपालनमा बैंकले भरपुर रुपमा सघाउने बताए। उनले भने ‘पछि शाखाबाट सबै किसिमका विप्रेषण सम्बन्धि सेवाहरू पनि प्रदान गर्नेछौँ, सर्वसाधारणलाई बचत गर्न र बजेट बनाउने सीपको शिक्षा दिने हाम्रो योजना छ।’
सक्षम–मेगा बैङ्क साझेदारी सन् २०१५ मा शुरु भएको हो। यस साझेदारीका लक्ष्यहरू ४ वटा नयाँ शाखा र ३० वटा नयाँ शाखारहित बैङ्किङ सेवा विन्दुहरूको स्थापना गर्ने र ट्याब बैङ्किङको अवधारणा ल्याएर अछाम, दार्चुला, डडेल्धुरा, दाङ, कैलाली तथा सल्यान गरी छ जिल्लामा रियल टाइम मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने रहेका छन्।
साझेदारीको हालसम्मको सफलताको बारेमा बोल्दै सक्षमका टोली उप–प्रमुख दाहालले वित्तीय संस्थाहरूबीचको प्रतिस्पर्धालाई बढावा दिने मात्र नभएर सेवा नपाएका जनसंख्यालाई सेवा तथा उत्पादनहरू पु¥याउने उद्देश्यले मेगा बैङ्कसँग साझेदारी गरेको स्पष्ट पारे।
सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो। यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ।